हेटौंडा: नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेस्रो चरणको खेल सम्पन्न भएको छ । सोमबार तेस्रो चरणको खेल सम्पन्न हुँदा एफएम खेलाडी रुपेश जयसवालले आफ्नो अग्रता कायम गर्न सफल भएका छन् ।

पूर्व नेपाल च्याम्पियनसमेत रहेका जयसवालले ३ अंक जोड्दै राष्ट्रिय च्याम्पियनको दावी पेश गरेका छन् । रौतहट जिल्लाका २०९३ रेटेड जयसवालले ललितपुर जिल्लाका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड शुश्रुत दहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई पराजित गर्न सफल भएको बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरमबहादुर लामाले जानकारी दिनुभएको छ ।

दोलखाका आशीष फुँयालले पनि अपराजित २.५ अंक बनाउँदै प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका छन् । दोश्रो स्थानका १९८१ रेटेड खेलाडी आशीषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराएका छन् । उनले २०४५ रेटेड पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका हुन् ।

प्रतियोगितामा काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी र धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन दुबैले समान २–२ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थानमा पर्न सफल भएका छन् । यस्तै, झापाका शुश्रुत दहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारले समान १.५ अंक हासिल गरेका छन् । सुनसरीका १८७८ रेटेड धिरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन, रिजेन्द्र राजभण्डारीले १ अंकको खाता खोलेका छन् । विनय थापा भने अंकबिहीन छन् । नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय स्पर्धाका शीर्ष ३ जना र राष्ट्रिय प्रतियोगिता ‘बी’बाट ९ जना खेलाडी छनौट गरी १२ जनाबिच ११ चरणको राउण्ड रोविन सिनियर राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको महासचिव लामाले बताउनुभयो ।

महिलातर्फको प्रतिस्पर्धामा काठमाडौंका सिन्दारा जोशी र ललितपुरका एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थान हासिल गरेका छन् । वर्तमान महिला राष्ट्रिय च्याम्पियन सिन्दिराले काठमाडौंका निहाना श्रेष्ठ, रुकुमका नयुमा मगर र चितवनका लक्ष्मी कँडेलमाथि जीत दर्ता गरेकी छिन् । एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराएकी हुन् । झापाका पुनम प्रसाईं, ताप्लेजुङका सुशीला गुरुङ, मोरङका शान्ति धिमाल, बाँकेका इशा गिरी, झापाका कृतिसारा अधिकारी र काठमाडौंका बिनिता कपाली सबैले समान २–२ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् ।

बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हीराकाजी महर्जनको सभाध्यक्ष तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको छ । मन्त्री महर्जनले इन्डोर खेलहरुमा सबैभन्दा उत्कृष्ट खेलमा बुद्धिचाल पर्ने बताउनुभएको छ । बुद्धिचाल खेलले मानिसको मानसिक विकास गर्न मद्दत गर्ने उहाँले बताउनुभयो । बुद्धिचालको प्रवद्र्धन गर्न बागमती प्रदेश सरकार योजनात्मक ढंगबाट अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । बुद्धिचाल खेललाई प्रभावकारीरुपमा लैजानका लागि ठूला पूर्वाधारको आवश्यक नपर्ने भएकाले थोेरै लगानीमा पनि यसको विकास गर्न सकिने उहाँको भनाइ छ ।

बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले बुद्धिचाल खेल नेपालमा सम्भावना भएको खेलमा पर्ने बताउनुभयो । बुद्धिचाल खेलले पाउनुपर्ने प्राथमिकता नपाएको उहाँले बताउनुभयो । हरेक खेल जस्तै बुद्धिचालको विकास गर्नका लागि उचित वातावरण बनाउनुपर्ने उहाँले धारणा राख्नुभयो । राज्यले अन्य खेल जस्तै बुद्धिचाल खेललाई प्राथमिकता नदिएको उहाँले बताउनुभयो । विद्यालयस्तरबाट नै चेसको महत्वबारेमा बुझाउन सके यसको आकर्षण बढ्ने उहाँको धारणा छ । आगामी वर्षबाट बुद्धिचालका लागि १० लाख रुपैयाँ बजेट छुट्याउने उहाँले विश्वास दिलाउनुभयो ।

बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले खेलाडीले खेलमा लागिरहने वातावरण निर्माण गर्ने बताउनुभयो । उद्घाटन कार्यक्रममा बुद्धिचाल महासंघका सह–महासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, केन्द्रीय सदस्य रमिला पोखरेल, प्रमुख निर्णायक आईए यज्ञप्रसाद पन्तलगायतको उपस्थिति रहेको थियो ।