एक लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गर्नुहुँदै मन्त्री किरण थापा ।

हेटौँडा ः हेटौँडा–९, कर्रामा पुनर्नभा अस्पताल भवन शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार बिहान भवनको शिलान्यास गर्नुभएको छ । मन्त्री थापाले प्रदेश सरकारबाट भवन निर्माणका लागि सहयोग गरिने प्रतिबद्धता समेत जनाउनुहुँदै व्यक्तिगत १ लाख रुपैयाँ नगद सहयोग गर्नुभयो ।

२ कोठे भवन ६० लाख रुपैयाँको लागतमा करिब ३ महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने बताइएको छ । लायन्स क्लब अफ हेटौँडाको स्वामित्वमा रहेको जमिनमा लायन्स क्लब र पुनर्नभा अस्पतालको सहकार्यमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गर्न लागिएको हो । लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष तुल्सी रिजालले लायन्स क्लबको स्वामित्वमा रहेको जमिनमा लायन्स क्लब र पुनर्नभा अस्पतालको सहकार्यमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गर्न लागिएको बताउनुभयो । हेटौँडामा क्रियाशील ४६ लायन्स सदस्यबाट ४२ लाख रुपैयाँ सहयोग संकलन भइसकेको उहाँको भनाई छ ।

लायन्स क्लब अफ हेटौँडाका पूर्वअध्यक्ष सुदर्शन अधिकारीले ५० लाख रुपैयाँ व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हाल हेटौंडा–४, हुप्रचौरमा भाडाको घरमा पुनर्नभा अस्पताल सञ्चालन भइरहेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, वडाध्यक्ष सुकराम केसी र फूर्वादोर्जे लामा, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालकी अध्यक्ष टासी डोल्मा तुम्बाहाङ्फे लगायतको उपस्थिति रहेको थियो ।