र्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामा ।

हेटौँडा ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकास निर्माणका आयोजनाहरुको आइईई र एआइईएको रिपोर्ट नहेरी काम गर्ने प्रवृत्ति रहेको बताउनुभएको छ । उहाँले आइईई र एआइईएको प्रभावकारी मूल्यांकन नहुँदा विपद् जोखिम बढाइरहेको बताउनुभयो ।

सोसाइटी अफ कन्सल्टिङ अर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम (स्केफ नेपाल) को आयोजनामा हेटौंडामा भएको पक्की पुलको ढाँचा सम्बन्धी ७ दिने तालिमको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले आयोजना निर्माणको चरणमा फर्जी डिपिआर समावेश गर्दा समस्या भएको बताउनुभयो । आयोजना निर्माणको चरणमा कागज मिलाएर डिपिआर हुने गरेको उहाँको भनाई छ । मुख्यमन्त्री लामाका अनुसार विकास निर्माणको काममा गुणस्तर कायम गर्न जरुरी रहेको छ । इन्जिनियरिङ संवेदनशील विषय रहेको र गणितीय विषयलाई स्पष्ट रुपमा नतिजामुखी बनाउने काम इन्जिनियरले गर्ने उहाँले बताउनुभयो ।

‘विगतमा पूर्वाधार निर्माणको पूर्वानुमान, प्रविधि हस्तान्तरण हुन नसक्दा समस्या भइरहेको छ’, मुख्यमन्त्री लामाले भन्नुभयो, ‘विगतमा डिजाइन एण्ड बिल्ड मोडलमा योजना कार्यान्वयन गर्दा धेरै पुलहरु निर्माण भएको छ । आवश्यकता अनुपातमा काम गर्न नसक्दा डिजाइन एण्ड बिल्डमा काम गर्दा अहिले समस्या भएको छ । सडक पूर्वाधार निर्माणको काम पनि डिजाइन एण्ड बिल्डमा जानुपर्छ ।’ विकास निर्माणको काममा निजी क्षेत्रसँगको साझेदारीमा अघि बढ्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो । नागरिकलाई नै आयोजना संरक्षणको मोडल तयार गरी हस्तान्तरण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो । विकास निर्माणको कामलाई प्रभावकारी र व्यवस्थापन गर्न नागरिकको व्यवहार सुधार गर्नुपर्ने उहाँको भनाई छ ।