हेटौंडा: मकवानपुर ग्याँस व्यवसायी संघको अध्यक्षमा चतुरबहादुर तामाङ (नवीन) चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको संघको १२ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनबाट तामाङ सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।
मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष केशव मुडवरीको सवारी दुर्घटनामा परेर निधन भएपछि अध्यक्ष पदक रिक्त रहेको थियो । संघको उपाध्यक्षमा मदनकुमार न्यौपाने, सचिवमा सुदर्शन पौडेल र कोषाध्यक्षमा कृष्णबहादुर ढुंगाना चयन हुनुभएको छ । यस्तै, सदस्यमा अच्यूत मुडवरी चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल २ वर्षसम्म रहनेछ ।
कार्यक्रममा विसं २०५८ सालदेखि ग्याँस व्यवसाय गर्दै आउनुभएको संघका सदस्य राजेश अग्रवाललाई सम्मान गरिएको छ । गत वर्षको साउन महिनादेखि यस वर्षको असार मसान्तसम्म १ लाख ९८ हजार ३५ रुपैयाँ आय र १ लाख ८६ हजार ८२ रुपैयाँ व्यय विवरणको प्रतिवेदन पेश गरिएको छ । गत वर्ष ५ लाख ६६ हजार ३५ रुपैयाँको सम्पत्ति रहेको संघमा यस वर्ष ७ लाख ११ हजार ३ सय ३ रुपैयाँको सम्पत्ति रहेको बताइएको छ । बैंक तथा नगद मौज्दात ७० हजार ७ सय ३० रुपैयाँ र उठ्न बाँकी रकम ४ हजार रुपैयाँ रहेको बताइएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष लामाको सभाध्यक्ष तथा ग्याँस बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलालको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा ग्याँस बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष विमला श्रेष्ठ, मकवानपुर ग्याँस व्यवसायी संघका निवर्तमान अध्यक्ष दिलिश गोविन्द जोशीलगायतको उपस्थिति रहेको थियो ।











