हेटौँडा ः आउँदो माघ २ गते बुधबार हेटौंडा उपमहानगरपालिका–१२, नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा गरिदैछ । ‘बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी’ भन्ने उद्देश्यले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो ।
आइतबार पत्रकार सम्मेलन मार्फत हेटौंडा–१२, नम्बर वडाका वडा सदस्य महेश भट्टराईले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने जानकारी दिनुभयो । निकृष्ट बाल श्रममुक्त र बाल विवाहमुक्त वडा घोषणा भइसेकको वडा सदस्य भट्टराईले बताउनुभयो ।
४७ वटा सूचकमा सय प्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गरेकाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । बल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरेर बाल अधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ प्रतिशत गरी बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा पूरा भएको उहाँको भनाई छ ।
घरधुरी तथ्यांक संकलन सर्वेक्षण २०७९ अनुसार हेटौंडा–१२ मा कुल २ हजार २३६ घरधुरी रहेको छ । वडामा १८ वर्ष मुनिका बालबालिका ३ हजार ७८ जना रहेको उहाँले बताउनुभयो । जसमा १ हजार ५७८ बालक र १ हजार ५०० बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालय सञ्चालनमा रहेको छ भने २२ वटा बालसमुह र १ वडास्तरीय बाल समुह सञ्जाल रहेका छन् । जसमा ५५० जना बालबालिकाहरु आवद्ध रहेको उहाँले बताउनुभयो ।
यस्तै विभिन्न संरचनागत समितिहरुमा समेत गरेर ५८९ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको छ । २०७९ साल भदौ २४ गते हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरिएको थियो । २०७९ साल मंसिर २० गते सरोकारवाला निकायको उपस्थितिमा अभिमुखिकरण र प्रतिवद्धता जाहेर गर्दै अभियान सुरु गरिएको थियो ।