देवप्रसाद श्रेष्ठ ।

राजा मुकुन्द सेनले राज्य संचालन गरेको गढीको फेदीमा विशाल फाँट हटिया–हर्नामाडी नेपाल राज्यको अन्न भण्डार मध्ये एक थियो । मकवानपुरको धान चामल र अन्नले प्रसिद्धी कमाएको थियो ।

तत्कालिन समयमा अधिकांश मानिस गढीमै बस्दथे । दिनभरी खेतीपातीको काम सकेपछि साँझ औलोको डरले बास बस्न माथिनै उक्लन्थे । वासुदेव रिजालको यहीँ जन्म भएको थियो । प्रजातन्त्र आउनु अगाडिसम्म मकवानपुरलाई चिसापानी इलाका भनिन्थ्यो । २०१७ सालपछि यो ईलाकालाई मकवानपुर जिल्ला भनियो । २०११ सालपछि युएसएडको सहयोगमा औलो विरुद्धको खोप कार्यक्रम पछि बेंसीतिर पनि बस्ती बढ्दै गयो । खाद्यान्नको श्रोत भएको र हेटौँडा लगायत चितवनका जंगलबाट काठ यहिँबाट उपत्यका जाने भएकोले मालपोत र वन डिभिजन कार्यालयहरु मकवानपुरमै थिए । पछि यी कार्यालयहरु हेटौँडा सरेको हो । जिल्लामा खुलेको पहिलो भाषा पाठ्शाला पनि मकवानपुर मै थियो ।

२०१५ सालको आम निर्वाचनपछि राजनीतिक रुपले पनि मकवानपुर सक्रिय थियो । पुरानो सदरमुकाम भिमफेदीपछि यस ठाँउमा राजनीतिक दल र कार्यकर्ताहरु सक्रिय थिए । सम्पादक तथा साहित्यकार मदनमणि दीक्षित, साहित्यकार तथा राजनीतिज्ञ श्यामप्रसाद शर्माहरु लगायत प्रगतिशील तथा जनपक्षीय व्यक्तिहरुले यसै स्थानमा रुढीवादी र सामन्त विरोधी अभियान चलाएका थिए । ब्राह्मणहरुले हलो जोत्न हुँदैन भन्ने परम्परालाई तोड्दै हलो आन्दोलन पनि चलाएका थिए । बामपन्थी दिगंवत नेताहरू भक्तबहादुर, गोबिन्द ढुंगाना, भुवन सिंह राई, राधेश्याम खतिवडा, बद्रीप्रसादहरु यहीँ दीक्षित भएका थिए । राजनीतिक चेत र प्रगतिशील समाजको प्रभावमा हुर्केका बासुदेव रिजाललाई किशोरावस्थामै टिवि रोगले छोयो । रोग लागेपछि उपचारको क्रममा युवा संगठनको सहयोगमा जनवादी चीन पठाइएको थियोे । चीनबाट स्वस्थ भई फर्केपछि उहाँले हेटौँडामा केहि समय सडक विभाग र त्यसपछि भुटनदेवी स्कुलमा काम गर्नुभयो ।

२०१५ सालको आमनिर्वाचनमा निर्वाचित विश्वेश्वर प्रसाद कोइरालाको प्रजातान्त्रिक सरकारलाई राजा महेन्द्रले २०१७ साल पौष १ गते अपदस्त गरी निरंकुश पञ्चायती व्यवस्था लागू गरे । बिपि, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका ठूला नेताहरुलाई जेल हाले । थुप्रै नेताहरू विस्थापित भएर भारततिर निर्वासित भए । राजाले लागू गरेको पञ्चायतलाई शिरोधार्य गर्ने बाहेक अरु अराष्ट्रिय तत्वमा गनिन्थ्यो । पञ्चायत इतरकाहरु माथि सरकार निर्मम हुन थाल्यो । २०२० सालमा भूमि सुधार र २०२१ मा राजाको हेटौँडा आगमनपछि २०११ सालको बाढी पीडितबाट भिमफेदी भैंसेलगायत मध्य पहाडी भुभागबाट विस्थापित पीडितहरुले खनजोत गरी हराभरा बनाएको हेटौंडा–४ र ५ चिसापानी पिप्ले गर्दोइको जग्गा राजदरबारका शरदार हंसमान सिंह, मधुसूदन राजभण्डारी लगायत १५ जना शरदार, सचिवहरुलाई हुकुम प्रमाङ्गी गरी १२० बिगाहाभन्दा बढी जमिन दिनु भन्ने आदेश भयो । पीडित किसान र प्रगतिशील पक्षमा व्यापक असन्तोष भएर आन्दोलन गर्ने निर्णयमा पुगे । मोहन गुरुजुको नेतृत्वमा आन्दोलनकारीहरु संगठित भए ।

२०२३ सालको हेटौंडा गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्चमा वासुदेव रिजाल अत्यधिक मतले विजयी भएका थिए । चिसापानी आन्दोलनको नेतृत्व गर्नेहरुमा मोहन बज्राचार्य, वासुदेव रिजाल, बद्रीप्रसाद खतिवडाहरु हुनुहुन्थ्यो । यो निरंकुश पञ्चायत कालमा भएको पहिलो सशक्त किसान आन्दोलन हुनुको साथै राजाको हुकुमको समेत विरोधको आन्दोलन भएकोले यो आन्दोलनलाई जसरी पनि निमिट्यान्न गर्नुपर्ने जिम्मेवारी लिएर आएका पञ्चायत व्यवस्थाका योजनाकार मध्येका कडा अञ्चलाधीश दामोदर शमशेर जबरा थिए ।

यसक्षेत्रमा पञ्च र प्रगतिशील (सेतो र पहेँलो) पक्ष बीच पहिलेदेखि लड्न्त हुँदै आएको थियो । प्रगतिशीलहरुको सहयोगमा किसानहरुले आन्दोलन थालेपछि अञ्चलाधीश दामोदर शमशेरले साम, दाम, दण्ड, भेदको नीति लिएर पहिलो चरणमा सम्झाए बुझाए । किसान र आन्दोलनकारीहरु टसमस नभएपछि मोहन गुरुजु, प्रधानपञ्च वासुदेव रिजाल, बद्रीप्रसाद खतिवडाहरुलाई पक्राउ गरी जेल पठाए । पञ्चहरु बिचौलिया र सरकार एकातिर पञ्चायत इतरका बुद्धिजिवी आन्दोलनकारी अर्कोतिर महिला नेतृत्वको अगुवाइमा आन्दोलन चर्कँन्दै गयो ।

सह–अञ्चलाधीश नन्दबहादुरको संरक्षणमा आएको नापी टोलीले भैरवरोडमा अमिनहरुले नाप्न खोजेपछि महिला आन्दोलनकारीले नाप्ने जंजिर खोसी टोली र बिचौलियाहरुलाई कुटपिट गरी लखेटे । सह–अञ्चलाधीशको रसियन जिपलाई पल्टाएर दलालहरुलाई नाङ्गै पारेर कुटपिट र घाइते बनाए । यसबाट रुष्ट भएका नारायणी अञ्चलाधीश दामोदर शमशेरले भोलिपल्टको आन्दोलन सहभागीहरु माथि व्यापक दमन गरे । निर्मम लाठी चार्ज गरे । लाठीचार्जबाट सख्त घाइते मध्ये प्राणमाया बज्राचार्य र वृद्ध गरुड आचार्यलाई स्ट्रेचरमा बोकेर नगर परिक्रमासम्म गरे । आन्दोलनबाट रुष्ट भएका अञ्चलाधीशको निर्मम दमनपछि आन्दोलनकारीहरु नारा–जुलुस गर्दै बिरामीलाई स्ट्रेचरमा बोकी अस्पताल पुगे । बजार र यातायात पूर्ण बन्द भयो । त्यसपछि अन्य केही किसान नेताहरुद्वारा सिङ देउला, चक्रपाणि रिजाल, इन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरे भने केही भूमिगत भए । थुप्रैलाई प्रलोभन र डर–त्रास देखाएर साम्य पारे । थुन–छेक र निर्मम दमनका बाबजुद विस्थापितहरुलाई हेटौँडामा एक कट्ठा घडेरीसम्म दिई बाँकी जग्गा निजगढ र बदाहाफाँटमा मुआव्जा दिएर राजाको हुकुम प्रमाङ्गीलाई दामोदर शमशेरले सफल बनाए । पञ्चायतकालमा हेटौँडामा भएको यो नै पहिलो र ठूलो किसान आन्दोलन थियो । आन्दोलनको क्रममा समातिएका प्रधानपञ्च वासुदेव रिजाल, बद्रीप्रसाद खतिवडा र अन्यलाई रिहा गरे । आन्दोलनको अग्रस्थानमा बसेर नेतृत्व गर्ने चट्टानी अडान भएका मोहन गुरुजुलाई पछिल्लो पटक रिहा गरे । वासुदेवजीले जेल भित्रबाटै एसएलसी उत्तीर्ण भए ।

जेलबाट रिहा भएपछि वासुदेवको टिमले गाउँ पञ्चायतलाई व्यवस्थित गर्ने, कार्यालय भवन निर्माण गर्ने तिर ध्यान दिए । शहरलाई व्यवस्थित गर्न टाउन प्लानिङको योजना बनाए । बिजुली ल्याउन र खानेपानी ल्याउन प्रयास गरे । नगर पञ्चायतको पूर्वाधार तयार गर्न उप–प्रधानपञ्च र जनपक्षीय वडा सदस्यहरुको सहयोगमा निरन्तर लागी परे ।

२०२४ सालमा अञ्चल प्रशासनको इशारामा शिक्षकहरुलाई फुटाउन आवश्यकतै नभएको भुटनदेवी स्कुलबाट १, २, ३ कक्षा हटाएर आधुनिक प्राथमिक स्कुल बनाएर अलग गरे । स्कुलको अध्यक्षमा प्रधानपञ्चको हैसियतले वासुदेव बनाइए । चिसापानी आन्दोलनमा सहयोग गरेकोमा अस्थायी शिक्षक केशव श्रेष्ठलाई खारेज गरे र छविनाथ गौतम, कृष्ण पोख्रेललाई सरुवा गरे । म स्थायी शिक्षक भएकोले सरुवा गरेन । म सचिव भएर सघाएँ ं। उक्त विद्यालय १ महिना भित्र कम्पाउन्डबाट बाहिर लान आदेश दिएँ । पछि वासुदेव हेटौँडा अस्पतालका डाक्टर रामबहादुर श्रेष्ठ, नीर शंकर लगायत भुटनदेवी स्कुलका शिक्षक साथीहरूको सहयोग र सल्लाहमा आधुनिकको प्रअमा केशव जीलाई नियुक्ति गरे । जस्तोसुकै परिस्थिति आए पनि सामना गर्ने अठोटका साथ त्यही कम्पाण्डको छेउमा कक्षा संचालन गर्ने निर्णय गरे ।

उमेरले वासुदेवजी म भन्दा जेठो भए पनि हाम्रो बीचमा घनिष्ट मित्रता थियो । हामी बिहान सखारै उठेर घुमफिर गर्ने गथ्र्यौं । त्यतिबेला हाम्रो समुहका साथीहरू महेन, केशव, बद्री सर, नन्दराम, गणेश लामा, शंकर अर्यालहरु थिए । धर्मदत्त, डेन्टिजङ्ग सर, नियमरत्न तुलाधर, ठाकुरनाथ शर्माहरु पनि साथ र सहयोगमा थिए ।

एकताका म वासुदेव, भोला रिजाल र एकजना पिसकोर साथी किथ र गुण बहादुर दाई बनारस पुगेका थियौं । बनारसमा निर्वासित नेता पुष्पलाल भेट्ने उद्देश्यले उहाँको डेरामा पुग्यौं । तर भेट भएन । काँइला बा (नरबहादुर कर्माचार्य) सँग मात्र भेट भयो । त्यतिबेला उहाँहरु वडो दुख साथ बस्नु भएको थियो । सिलावरको कसौंडीमा चना उसिनी राख्नु भएको थियो । हामीले खाने यहि हो । जे भेट्टायो त्यही खान्छौं । तिमीहरु पनि खाओ भन्नुभयो । हामीले अलि–अलि खायौं । मलाई त्यतिबेला काइँला बाले डा. बनर्जीकोमा लगेर उपचार गराउनु भएको थियो ।

बासुदेव गाउँ पञ्चायतको अध्यक्ष भएपछि यसलाई नगर पञ्चायत बनाउन प्रयत्नशील भए । सडक, बिजुली, खानेपानी र अन्य उद्योग व्यापारको पूर्वाधार तयार गरेपछि नगर पञ्चायतको चुनाव भयो । उक्त चुनावमा उहाँ अत्यधिक मतले पञ्चायत पक्षका उम्मेदवारलाई हराएर विजयी हुनुभयो ।

२०१५–१६ तिर वासुदेव रिजाललाई टिबि रोगले समातेपछि उपचारको क्रममा जनवादी चीनमा रहँदा चिनियाँ चिकित्सकहरुबाट भएको सहयोग सुविधा युवाहरूको सक्रियता चिनियाँ क्रान्तिको प्रभाव आदिबाट निकै प्रभावित भएर नेपाल फर्केका थिए । भर्खरको युवा उहाँको जोश, जाँगर र ओजपूर्ण भाषणबाट सबै प्रभावित थिएँ । प्रारम्भमा प्रगतिशील पक्षले चिसापानी आन्दोलनमा खेलेको भूमिका निकै सशक्त थियोे । तात्कालिन निरंकुश अञ्चल प्रशासकलाई जसरी पनि राजाको हुकुम तामेली गर्नु नै थियोे । सत्तामा बस्ने र टिकाउन खोज्नेले आफनै हाथमा डाडु–पन्यु भएकोले उस्ले जसरी भए पनि राजाको हुकुम प्रमाङ्गीलाई पालना गर्नैपथ्र्यो । वासुदेव नगर पञ्चायतको प्रधानपञ्चबाट विस्थापित गर्नैपर्ने थियोे । उहाँलाई कुन अस्त्र प्रयोग गरेर निस्तेज गर्ने हो त्यसको उपाय स्वरुप नारायणी प्रेसका प्रमुख रामराजा राणाले हिमचीम बडाउँदै लगे ।

अलि अलि रक्सी पनि खान थाले अर्कोतिर प्रगतिशील पक्षका साथीहरू सँगको संगत पातलीन थाल्यो । नगर पालिकामा कट्टर पञ्चहरुको बाहुल्य थियो । उहाँलाई अविश्वासको प्रस्ताव ल्याएर अपदस्त गरी छाडे ।