हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंंडा–५ स्थित जीएस निकेतन बोर्डिङको प्राङ्गणमा सहकारीको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष ऋषिराम पोखरेल उपाध्यायको सभाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको थियो ।
साधारणसभाको अवसरमा सहकारीले ७ जनालाई सम्मान गरेको छ । सहकारीका निवर्तमान उपाध्यक्ष गोविन्दप्रसाद चौलागाईंलाई १० हजार रुपैयाँ, पूर्वउपाध्यक्ष विश्वनाथ रेग्मीलाई ११ हजार रुपैयाँ, पूर्वउपाध्यक्ष भुपेन्द्र खड्कालाई ११ हजार रुपैयाँ, पूर्वप्रिन्सिपल खिलप्रसाद बराललाई ११ हजार रुपैयाँ, मामाघर नेपालका संस्थापक अध्यक्ष अर्पण पराजुलीलाई १० हजार रुपैयाँ, पत्रकारिता तथा साहित्य पुरस्कारबाट नवराज शर्मालाई १० हजार रुपैयाँ र मरणोपरान्त बलराम शर्मालाई ११ हजार रुपैयाँ नगद राशिसहित सम्मान गरिएको छ ।
अध्यक्ष पोखरेलले शिक्षक छनोट प्रक्रियामा कार्यविधि निर्माण गरी प्रतिस्पर्धात्मक ढंगबाट छनोट गर्दै आएको बताउनुभयो । दोहोरो सदस्यता र निष्क्रिय रहनुभएका सदस्यहरुलाई एकीकृत वा निवेदनका आधारमा सेयर रकम फिर्ता गरिएको उहाँले बताउनुभयो । सहरकारीले सञ्चालन गरिरहेको जीए निकेतन माविमा अध्ययनरत छात्राहरुको सुविधाका लागि सेनेटरी प्याड भेन्डिङ मेसिनको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
कम्प्युटर ल्याब र पुस्तकालयको पूर्वाधार व्यस्थापनका लागि थप कार्य गरेको र विद्यालयको कक्षामा सिसी टिभी क्यामेरा जडान गरेर नियमित कक्षा अवलोकनमा जोड दिएको उहाँले बताउनुभयो । सेयर सदस्यहरुलाई मासिक शुल्कमा छुट, लाभांश वितरण, सहकारी अवलोकन भ्रमणलगायत सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो । विद्यालयको शैक्षिक कार्यक्रमलाई १२ कक्षासम्म विस्तार गरी प्राविधिक धार अध्यापनका लागि योजना अगाडि बढाइने उहाँले बताउनुभयो ।
सहकारीका कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले बैंकको ऋण ४ लाख ७७ हजार रुपैयाँ तथा सिपद्री हायर पर्चेजको ऋण ४ लाख २९ हजार रुपैयाँ गरी दायित्व ९ लाख ६ हजार घटाइएको आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । यस वर्षबाट साधारणसभामा उपस्थित सेयर सदस्यलाई यातायात खर्च २ हजार ३ सय ५७ रुपैयाँ प्रदान गरिएको उहाँले बताउनुभयो । विद्यार्थीका लागि एक वर्षे बिमा गरेको उहाँले जानकारी दिनुभयो । विद्यालयका एक हजार ५ सय ५० विद्यार्थीका लागि प्रतिविद्यार्थी ३ सय ६५ रुपैयाँका दरले ५ लाख ६५ हजार ७ सय ५० रुपैयाँ बिमाबापत खर्च गरिएको उहाँले बताउनुभयो । बचत तथा ऋण कार्यक्रमलाई प्रभावकारी तथा थप व्यवस्थित गरी सञ्चालन गर्न एक जना कर्मचारी व्यवस्थाका लागि ३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको उहाँको भनाइ छ ।
सहकारीको यस वर्षको यथार्थ आम्दानी ६ करोड ९९ लाख ९१ हजार ९ सय ४१ रुपैयाँ रहेको बताउनुभयो । आर्थिक वर्ष २०८०÷०८१ मा वास्तविक खर्च ३ करोड ७६ लाख ८ हजार ८ सय ६७ रहेको उहाँले बताउनुभयो । ५ सय ९२ जना सेयर सदस्य रहेको सहकारीमा सेयर पुँजी ९४ लाख ४० हजार रुपैयाँ रहेको उहाँले बताउनुभयो । गत असार मसान्तसम्म सहकारीको जगेडा कोष ६२ लाख ९३ हजार ३ सय ७४ रुपैयाँ रहेको उहाँले बताउनुभयो । गत वर्षको जगेडा कोष ६२ लाख २६ हजार ७७ रुपैयाँ रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहकारीका पूर्वअध्यक्ष पिताम्बर बास्तोला, सचिव शिवप्रसाद बन्जारा, पूर्वकोषाध्यक्ष रामप्रसाद गजुरेल, भुपेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो ।