विद्यार्थीको नतीजासहित घरदैलो कार्यक्रममा सहभागी शिक्षकहरु ।

हेटौँडा ः विद्यालय शिक्षामा शिक्षक–विद्यार्थीसँगै अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । अभिभावकको सहभागिता, सक्रियता र सहयोग बिना प्रभावकारी शिक्षा र सिकाई हुन नसक्ने बुझेरै हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयका शिक्षकले अभिभावकलाई भेट्न, अभिभावकको भूमिका बुझाउन अर्धवार्षिक परीक्षाको नतीजासहित घरदैलो गरेका छन् ।

अर्धवार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्दै विद्यार्थीको अवस्था विश्लेषण गर्न, अभिभावकको भूमिका बुझाउन विद्यालयमै बोलाउने गरिएको थियो । विद्यालयमा अभिभावकको उपस्थिति न्यून रहने र नतीजा तथा विद्यार्थीको अवस्थाको प्रभावकारी विश्लेषण सम्भव नभएपछि शिक्षक नै नतीजा बोकेर अभिभावकलाई भेट्न घरदैलोमा हिँडेको प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभएको छ । कक्षागत रुपमा परीक्षाको नतिजा सार्वजनिक गर्दै विद्यार्थीको घरमै पुग्ने प्रयास गरिएको प्रधानाध्यापक उप्रेतीको भनाइ छ ।

विद्यालयले गत शुक्रबारदेखि अर्धवार्षिक परीक्षाको नतिजा कक्षागत रुपमा सार्वजनिक गर्न सुरु गरेको थियो । तर, केही अभिभावक उपस्थित नभएपछि विद्यार्थीको परीक्षाको नतिजासहित घरमै पुगेर अभिभावकसँग छलफल गर्न सुरु गरिएको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो । अभिभावकलाई विद्यालयमा आउन विद्यालयले पठाएको पत्र विद्यार्थीले आफ्ना अभिभावकलाई नदिने र घरको काममा व्यस्त भएको भन्दै अभिभावक अनुपस्थित हुने गरेको उहाँले बताउनुभयो ।

घरदैलोका क्रममा अभिभावकसँग छलफल गर्दा कतिपय विद्यार्थीले पढ्न नमान्ने, मोबाइल चलाउने र बिहान छिटो उठ्न नमान्ने जस्ता गुनासो अभिभावकको रहेको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभएको छ । एक साताभित्र कक्षागत रुपमा परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो । अमर माविमा ५९ जना विद्यार्थीले कक्षा–१० को अर्धवार्षिक परीक्षा दिएका थिए । नतीजा सार्वजनिक गर्दा ४२ जना विद्यार्थीका अभिभावक मात्रै विद्यालय आएका थिए । विद्यालयमा उपस्थितिका लागि पत्राचार गर्दा पनि उपस्थित नभएका अभिभावकलाई भेट्न शिक्षक आफैं विद्यार्थीको घरमा पुग्न बाध्य भएको उहाँको भनाई छ ।

घरदैलो कार्यक्रममा अभिभावकसँगको छलफल तथा सुझाव संकलनपछि विद्यालयले कक्षा–१० मा अध्ययनरत् विद्यार्थीका लागि माघ २ गतेबाट बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमै पढ्ने वातावरण मिलाउँदै छ । बिहान २ घण्टा किताब पढ्ने त्यसपछि अतिरिक्त कक्षा र पुनः बेलुका ५ बजेपछि किताब पढ्न लगाउने गरी विद्यार्थीलाई विद्यालयमै राख्ने व्यवस्था मिलाइने उहाँको भनाई छ । अमर माविमा ५ सय ४२ जना विद्यार्थीले अर्धवार्षिक परीक्षा दिँदा २१ जना विद्यार्थी भने अनुपस्थित रहेको विद्यालयले जनाएको छ । परीक्षा दिन छुटेका विद्यार्थीका लागि बिहीबारबाट परीक्षा दिने व्यवस्था मिलाइएको प्रअ उप्रेतीले जानकारी दिनुभयो ।