हेटौँडाः हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयको खेलकुद सप्ताह कार्यक्रम सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा पहिलो वार्षिक खेलकुद सप्ताह सुरु भएको हो । खेलकुद सप्ताहको उद्घाटन हेटौँडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्य तथा बालज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र पोखरेलको सभाध्यक्षमा भयो ।
नर्सरी कक्षादेखि १० कक्षासम्मका करिब १ हजार ५ सय विद्यार्थीको सहभागितामा आयोजना गरिएको खेलकुद कार्यक्रम आउँसो सोमबारसम्म सञ्चालन हुनेछ । सप्ताहमा निलो सदन, रातो सदन, पहेँलो सदन र हरियो सदन गरी चार सदनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फुटबल, रिले दौड, डोरी तान्ने, भलिबल, म्युजिकल चेयर लगायतका खेलहरु सञ्चालन हुनेछ ।
शुक्रबार मार्चपास, झाँकीसहितको नृत्य, तेक्वान्दोको काता प्रदर्शनी र बाजागाजासहित प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिने छ । प्रथम हुने सदनलाई ट्रफी प्रदान गरिने बताइएको छ । विद्यालयले यसै वर्षबाट खेलकुद सप्ताह आयोजना गर्न सुरु गरेको हो ।
खेलकुद सप्ताह उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक भरत अर्यालले खेलकुदले विद्यार्थीको अनुशासन र मनोबल बढाउने भएकोले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । बालज्योतिको इच्छा, गुणस्तरीय शिक्षा भन्ने नारालाई सार्थक बनाएर यस वर्षदेखि वार्षिक खेलकुद कार्यक्रमको आयोजना गर्न थालिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनका लागि नृत्य, गायन, मार्सल आर्ट, स्काउट र भाषण कला शिक्षकहरुको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष सुशील घिमिरेको पनि आतिथ्य रहेको थियो ।