सांकेतिक तस्वीर ।

हेटौँडा ः बागमती प्रदेशको सिन्धुली र दोलखा जिल्लामा विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुलीमा ३ जना र दोलखामा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ सिस्नेरीमा कारको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीय रमेश कार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

गत मंसिर १३ गते बिहान १० बजेर ५० मिनेटको समयमा बिपि राजमार्गमा बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बिए सी ३१४९ नम्बरको कारले कार्कीलाई ठक्कर दिएको थियो । दुर्घटनामा कार चालक सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ का ६१ वर्षीय ओमराज गिरी र पैदलयात्री कार्की घाइते भएका थिए । घाइते दुबैजनालाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी हस्पिटल लगिएको थियो । उपचारको क्रममा कार्कीको बुधबार दिउँसो २ बजेर १० मिनेटको समयमा टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–८, माथिल्लो सिस्नेरीमा अटो आफैं अनियन्त्रित भई सडकको नालामा पल्टँदा अटो चालकको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेर ५ मिनेटको समयमा सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको ज १ ह ४१३१ नम्बरको अटो आफैं अनियन्त्रित पल्टिँदा चालक घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा अटोचालक कमलामाई नगरपालिका–९ बस्ने ३४ वर्षीय हरी माझी र अटोमा सवार ५१ वर्षीय सुकवीर माझी थिए । घाइते दुबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएकोमा राती ८ बजेर ३५ मिनेटको समयमा हरी माझीलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको मरिण गाउँपालिका–१, भदौरेमा कच्ची बाटोबाट ७० मिटर तल खस्दा आधारभूत श्री विद्यालय भदौरेका कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया मंगलीमाया राना रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ९ बजेर ४० मिनेटको समयमा मंगलीमाया घरबाट विद्यालय भदौरेका लागि गएकी थिइन् । मंगली बेलुकासम्म घर नफर्केको र विद्यालय पनि नपुगेको सूचना पश्चात आफ्न्त र स्थानीयले खोजी गर्दै जाँदा भदौरेमा कच्ची सडकबाट ७० मिटर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

दोलखा जिल्लाको शैलुङ गाउँपालिका–७, फस्कुमा एक जना बिरामी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया सुनमाला तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । सुनमालालाई सोमबार पेटको समस्याले बिरामी भई उपचारका लागि बुधबार बिहान ९ बजे फस्कु स्वास्थ्य चौकीमा लगिएको थियो । उपचारको क्रममा सुनमालाको दिउँसो १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।