हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–३, सरिखेतस्थित सूर्योदय माध्यमिक विद्यालयको छात्राबास भवन शिलान्यास गरिएको छ । बिहीबार प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले छात्राबास भवन शिलान्यास गर्नुभएको हो ।
प्रमुख सचेतक बर्तौलाले २ घण्टाभन्दा लामो समय हिँडेर विद्यालय आउनुपर्ने बाध्यता न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । सार्वजनिक शिक्षालाई सुधार गर्न ‘एक पालिका, एक आवासीय विद्यालय’ अन्तर्गत छात्राबास निर्माण कार्य थालिएको उहाँको भनाइ छ । राक्सिराङको सूर्योदय माध्यमिक विद्यालय र थाहा नगरपालिकाको झम्केश्वरी माध्यमिक विद्यालयमा छात्राबास निर्माण सुरु गरिएको हो ।
शहरी विकास मन्त्रालयको १ करोड रुपैयाँ अनुदानमा सद्गुण निर्माण सेवा हेटौंडाले ६४ लाख ९२ हजार रुपैयाँको ठेक्का सम्झौता गरेर भवन निर्माण थालिएको छ । आगामी २०८२ जेठ २६ गतेसम्म भवन निर्माण सम्पन्न गरिने लक्ष्य छ ।