कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा

चैनपुर (राक्सिराङ) ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गाँजा खेतीलाई वैध गर्नुपर्ने बताउनुभएको छ । संघीय सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने उहाँले बताउनुभयो । बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले अभावका कारण राक्सिराङ, कैलाशका नागरिक जेल जान बाध्य हुनु परेको उल्लेख गर्नुहुँदै वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको टिप्पणी गर्नुभयो ।

मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा सहज रुपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व रहेको बताउनुभयो । आन्तरिक समस्या र कानुनी अड्चन सुल्झ्याएर नागरिकको आवश्यकता अनुसारको विकासका काम गर्नुपर्ने उहाँको भनाई छ । सरकारले रणनीतिक आयोजनाहरु निर्माण गरेर काम गर्न जरुरी रहेको औँल्याउनुभयो ।

‘विकट क्षेत्रका नगरिकलाई विकासमा जोड्ने गरी प्रदेश सरकारले योजना तयार गर्नेछ । सिमान्तकृत वर्गको नागरिकको जिवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्नेछ’, उहाँले भन्नुभयो, ‘चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयनको चरणमा सरकार रहेको छ । परम्परा र संस्कृति संरक्षणमा प्रदेशले काम गर्नेगरी अघि बढेको छ ।’ आर्थिक उपार्जनमा नागरिकलाई जोड्न विशेष पकेट क्षेत्र मार्फत काम गर्नेपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो । योजनासँग नागरिकको भोट साट्ने काम बन्द गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचन पछि राजनीतिक विचारभन्दा माथि रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले नाकावन्दी लगाउँँदा जनताका विषयमा जनप्रतिनिधिसँग जोडिन सक्ने अवस्था नरहेको आरोप लगाउनुयभो । उहाँले स्थानीय तहका प्रमुख÷उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

स्थानीय तहका प्रमुख÷उपप्रमुखले नै सांसदहरुसँग विकास माग्ने गरेको गुनासो गर्नुभयो । सांसदहरुसंग नीति, नियम तथा कानुनका विषयमा प्रश्न गर्नुपर्ने उहाँको भनाई छ । सांसदहरुसँग विकासका आयोजना आम नागरिकले माग्नुपर्ने उनले बताए । अघिल्लो सरकारले बनाएको बजेटमा काम गर्दा केहि असहजता भएको उहाँले बताए । नागरिकहरुमा सहज सेवा प्रदान गर्नेगरी सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । विकट राक्सिराङ, कैलाश गाउँपालिकाको विकासका लागि सडक पूर्वाधारलाई स्तरीय बनाउन जरुरी रहेको बताए । उनले सो क्षेत्रको विकासका लागि त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग जोड्ने गरी सडक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो ।