हेटौँडा ः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले रोजगारी सृजना र युवा पलायन रोक्न उद्योग क्षेत्र फस्टाउन जरुरी रहेको बताउनुभएको छ । उहाँले राजनीतिक नेतृत्व, प्रशासन र नागरिकहरुमा सुधारको आवश्यक पनि बताउनुभयो । मंगलबार मकवानपुर उद्योग वाणिज्य संघको हेटौँडामा आयोजित ५८ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले देश विकास र सुशासनका लागि सबै क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो ।
नेपालीले उत्पादनका काम छाड्दा आर्थिक रुपमा समस्या भएको भएको उहाँको भनाई छ । उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । ‘ऐन, कानुन परिमार्जन गरेर विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्छ । विकास निर्माण र समृद्धिको यात्रामा एकतावद्ध हुन जरुरी रहेको छ’, उहाँले भन्नुभयो, ‘स्थानीयस्तरको सम्भावनाको आधारमा उत्पादनमा केन्द्रित हुन जरुरी छ । व्यवसायीहरु पनि वाणिज्यमा मात्र केन्द्रित भएका छन् । वाणिज्यलाई मात्र प्राथमिकतामा राखेर हुँदैन । उत्पादनमा अग्रसर हुन जरुरी छ ।’
राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उहाँको भनाई छ । उहाँका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भिर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरुको सबै विषय अद्यावधिक गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा संघीय संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ९ करोड रुपैयाँ खर्च गरेर लगानी सम्मेलन मार्फत् ६ अर्ब लगानी प्रतिवद्धता लिएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले अस्थिर सरकार, कर्मचारीतन्त्र, ऐन कानुन र नेतृत्वको कमजोरीका कारण विदेशीहरुले नेपालमा लगानी गर्न नचाहेको बताउनुभयो ।
उहाँका अनुसार एउटा कर्मचारीले राज्यको निर्णय रोकेर राख्ने गरेको छ । देशको क्याविनेट भन्दा ठूलो निकुञ्ज र आरक्षका कर्मचारी हुँदा हेटौँडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माणको काम हुन नसकेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समयमा देशमा सहकारी समस्या कोभिड १९ संक्रमण भन्दा जटिल रुपमा फैलिएको उहाँको भनाई छ । राज्यले सहकारी समस्यामा अनुसन्धानको नाममा पक्षपात गरिरहेको उहाँले आरोप छ । सहकारी ठगीमा संलग्न रहेका व्यक्तिको सम्पत्तीबाट असुल गरेर बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने सभापति सिंहको भनाइ छ । कार्यक्रममा संघीय सरकारका प्रमुख सचेतक महेशकुमार बर्तौला, बागमती प्रदेश सभाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।