बिक्रम खतिवडा

स्वदेश तथा विदेशमा समेत उच्च माग रहेको उच्च आययुक्त पेशा पहिलो रोजाइमा पर्न नसकेको देखेर म कैयन स्कुल कलेजका विद्यार्थीसँगको कुराकानीको अवसरमा उनिहरुको भावी योजना बारे सोध्ने गर्छु । कति राम्रा सपना देखेका हुन्छन् सुनेर खुशी लाग्छ र मनमनै कामना गर्छु यिनले देखेका सपना पूरा हुन् । प्रायः विद्यार्थीले देख्ने वा भनौं उनीहरुलाई देखाइने भनेको डाक्टर, नर्स, ईन्जिनियर, वकिल, सेना प्रहरी, निजामति, पत्रकार, बैंकिङ लगायतका क्षेत्र नै हुन् । तर बिरलै मात्रले भनेको सुनिन्छ म एक बिक्रि प्रतिनिधि (सेल्समेन) बन्न चाहान्छु भन्ने ।

उत्कृष्ट पेशा हुँदा हुँदै पनि कसैको पहिलो रोजाईमा नपर्नुमा कतै यस क्षेत्रमा भएको अवसरका बारेमा ज्ञान नहुनु वा सबैले सहजता मात्रै खोजकाले यस पेशा पहिलो रोजाईमा नपरेको हो भने आजै आफ्नो सोच बदल्न हुन अनुरोध गर्दछु । यो पेशा आफैंमा एक कला हो । यदि तपाईं भित्र अर्काको कुरा ध्यानपूर्वक सुन्ने, आफैं भित्र पूर्ण आत्मविश्वास, समझदार, विनम्र, सिक्न खोज्ने क्षमता छ भने, तपाई एक सेल्समेन बन्नका लागि योग्य हुनु भयो । तपाई कतिसम्म अघि बढ्ने भन्ने चाहिँ तपाईको कामप्रतिको लगन, जवाफदेहिता, मूल्याङ्कन क्षमता आदिमा निर्भर हुने गर्दछ ।

एक उत्कृष्ट सेल्समेन हुँदा तपाईको व्यापार व्यवसाय वा नोकरी नै गर्ने हुँदा पनि अन्य पेशाको तुलनामा भविष्य उज्जवल छ । एक उत्कृष्ट सेल्समेनका लागि कहिलै अवसरको खाँचो हुने छैन । आज यहाँ चर्चा गरौं पेशागत बिक्रि प्रतिनिधि (सेल्समेन) को बारेमा, नेपालमा अझै भनौं विश्व बजारमा नै पनि बिक्रि प्रतिनिधि (सेल्समेन) को माग सदैब उच्च रहेको छ । यो अझै केहि समय कायम रहने देखिन्छ । तर हाम्रो समाजमा भने यस पेशालाई पहिलो रोजाईको पेशा मानिँदैन । लगभग ‘रिजेक्टेड प्रोफेसन’ नै भन्दा फरक नपर्ला ।

हिजोआज नोकरी प्रायः सबैलाई चाहिएको छ तर सेल्समेन चै बन्न नरुचाउने जमात ठुलो छ । सकेसम्म अन्य पेशा व्यवसायलाई रोज्ने विभिन्न कारणले असफल भई बेरोजगार नै भैसकेपछि हिन्दिमा एउटा उखान छ नि ‘मर्ता क्या नहि करता’ भनेझैं अनि बल्ल सुरु हुन्छ सेल्समेन बन्ने यात्रा । तर जो यस पेशामा रमेको हुन्छ नि उसले अन्य पेशा भन्दा आफ्नो पेशा उत्कृष्ट ठान्ने गर्छ । सबै बाटो बन्द भएपछि बल्ल मिलेको निकासले नै जिवनमा राम्रै परिवर्तन लिएर आउँछ । हुन पनि हो अन्य पेशाको तुलनामा नोकरी नै गर्दा पनि राम्रै तलब लगायतका सुविधा मिलेको हुन्छ ।

ईमानदार, परिश्रमी, लगनशील भएर काम गर्ने हो भने नोकरी सुरु गर्दाको तलब लगायतका सुबिधा ३/४ वर्ष भित्रै दोब्बर भैसकेको हुन्छ । केहि वर्षको अनुभव छ भने यस पेशामा नेपालमै बसेर पनि लाख हाराहारी तलबलाई सामान्य नै मानिन्छ । अन्य पेशा गरेर नेपालमै लाख हाराहारी बैध कमाई भनेको धेरै नै ठूलो कुरा हो । यि त भए सकारात्मक पक्ष । नकारात्मक पक्ष पनि धेरै छन् यस पेशामा । जस्तै सधैं भिर्ने त्यो झोला मात्रै होइन तनावको पोको नै भन्दा हुन्छ । त्यति मात्रै होइन तपाईको तलब लगायतको सुविधा मात्रै बढ्छ भन्ने भ्रममा चाहि नबस्नु नि ।

तपाईको लक्ष्य पनि उसैगरी उकालो लाग्दै गरेको हुन्छ । समान्यतया नेपाली बजारमा जस्तो अघिल्लो महिना वा अघिल्लो वर्ष जे तपाईले गर्नुभयो यस वर्ष पनि सामान्यतया २०÷३० प्रतिशत बढाएर तपाईंको लक्ष्य निर्धारण गरिन्छ । त्यसका लागी खाँदा, बस्दा, सुत्दा, उठ्दा, आफ्नो मन–मस्तिष्कमा उक्त लक्ष्यलाई बोकेर योजनाबद्ध तरिकाले काम गर्न सकिएन भने चै निकै नै गाह्रो हुन्छ । प्रतिस्पर्धी बजारमा आफुलाई टिकाई राख्न उति सजिलो पनि छैन । यहाँ व्यवस्थापन पक्ष र व्यवसायी दुबैको विश्वास जित्नका लागि एउटा पुलको भूमिकामा आफुलाई प्रस्तुत गर्न सके सहज हुन्छ । कुनै एक पक्षमात्रैलाई धेरै प्रथामिकतामा राखियो भने परिणाममुखी भएर काम गर्न निकै कठिन हुनेछ ।

स्वदेश तथा विदेशमा समेत उत्तिकै माग रहेको यस पेशाका लागि एकाध निजी क्षेत्रले भर्खरै सुरु गरेको केहि पहल मात्रै पर्याप्त पक्कै छैन । यसका लागि त स्कुल, कलेजदेखि नै त्यहि अनुरुपको वातावरण बनाउँदै राज्यको तर्फबाट पनि गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिन सके संसारमै हाम्रो पहिचान तल्लो स्तरको काम र न्यून परिश्रमिकबाट बढेर उच्च मनोवलसहित समयानुकुल परिश्रमिक हुने प्रस्ट देखिन्छ ।