गुगल तस्वीर ।

हेटौंडाः देशभर इसाई धर्मालम्बीहरुले आज बुधबार ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियालीमा ‘क्रिसमस डे’ पर्व मनाउने गरिन्छ । येशु ख्रिष्टको जन्मदिनको खुशियालीमा आज बुधबार नेपालमा पनि इसाई धर्मालम्बीहरुले पर्व मनाउँदैछन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी सम्वत् चलाइएको विश्वास गरिन्छ ।

‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । इसाई धर्मावलम्बीहरुको उल्लेख्य बसोबास रहेकाले मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने पुस ९ र १० गते २ दिन सार्वजनिक बिदा दिएको छ ।

आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष रौनक हुने गरेको छ । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्रीलगायतले सजाइएको छ ।