मनहरीः मकवानपुरको मनहरी गाउँपालिकामा भर्खरै रोपिएको धानमा पहेँले रोग देखिएको छ । सुरुमा धान पहेलो हुने र पछि ओइलाएर सुक्ने समस्या देखिएको किसानहरुले बताएका छन् । पानी भएको गह्रामा पहेँलो हुने र ओइलाउने हुन्छ भने पानी सुकाएमा जरैमा किराले काटेर धान सखाप पारेको किसानहरुले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष एकराज उपे्रतीले किसानहरुको समस्यामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले धानमा देखिएको समस्याको समाधान गर्न गाउँपालिकाले प्रयास गरिरहेको र नियन्त्रणमा नआए बागमती प्रदेश सरकारसँग समन्वय गरेर विज्ञहरुलाई देखाएर समस्या समाधान गरिने बताउनुभयो । मनहरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का खेतहरुमा यस्तो समस्या देखिएको हो । गाउँपालिकाको चकरी, मकरी, भोर्लेटाँडी, आलदमार लगायतका क्षेत्रको खेतमा यस्तो समस्या देखिएको हो ।
मनहरी गाउँपालिका वडा नम्बर १ चकरीका किसान होम बहादुर मोक्तानले आफ्नो १ हेक्टर खेतमा पहेँले रोग देखिएको बताउनुभयो । उहाँका अनुसार चकरीको खेतमा आधा जति धान रोपिसकिएको छ भने सबै रोपाइ सकिन साउन २५ गतेसम्म नै लाग्छ । धेरैजसो किसानको खेतमा यस्तो समस्या देखिएको छ । केहि समय अगाडि मकैबालीमा पनि यस्तै समस्या देखिएको किसान मोक्तानले बताउनुभयो । अमेरिकी फौजिकीरा, सलह र लकडाउन जस्ता समस्याहरुबाट गुज्री रहेको अवस्थामा किसानहरुलाई फेरी अर्को समस्या आइपरेको हो ।
मनहरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा गरी करिब ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यो समस्या देखिएको छ । किसानहरुको सो समस्याको बारेमा गाउँपालिकाबाट निरन्तर अनुगमन भएको र किसानहरुलाई समाधानका लागि सल्लाह र सुझाव दिइरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख उज्वल मगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अनुगमन गरिसकेका छौं किसानहरुलाई सम्भव भएसम्म अर्गानिक विषादीहरु हालेर समस्याको समाधान गर्न सल्लाह दिएका छौं ।’ रोगलाई सकेसम्म अर्गानिक विषादी प्रयोग गरेर नियन्त्रणमा लिने, यदि नियन्त्रणमा नआए किटनाशक विषादी प्रयोग गरिने उहाँले बताउनुभयो । आवश्यक भन्दा धेरै वर्षा भएकाले यस्तो समस्या देखिएको कृषि शाखा प्रमुख उज्वल मगरले बताउनुभयो ।