मनहरीः मनहरी गाउँपालिकामा गाउँपालिकाका विद्यालयहरु सञ्चालन गर्ने विषयमा छलफल भएको छ । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतिको अध्यक्षतामा बसेको बैठकमा गाउँपालिकाका सामुदायिक र संस्थागत दुबै विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र अभिभावक संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

बैठकमा विद्यालयहरुको अवस्था, अभिभावकको चाहना, विद्यार्थीको चाहना, नेपाल सरकार को निर्णय, गाउँपालिकामा कोरोनाको अवस्था, बाढि पहिरोको समस्या र गाउँपालिकाको भौगोलिक विषयहरुलाई नियालेर तत्काल विद्यालयहरु सञ्चालन गर्ने नगर्ने भन्ने विषयमा छलफल भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पूर्ण पक्षलाई मध्यनजर गर्दै बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अनलाईन, रेडियो, टेलिभिजनबाट र टोल—टोलमा पुगेर पठनपाठनलाई अगाडि बढाउने निर्णय भएको छ ।

गाउँपालिकाको २ वटा विद्यालयहरुमा क्वारेन्टाइन सञ्चालन भैरहेको छ । वैकील्पक माध्यमहरुमा पनि विद्यार्थीहरुको पहुँच नहुने र प्रभावकारी नभएकोले त्यस्तो क्षेत्रमा टोल-टोलमै पुगेर बालबालिकालाई शिक्षा प्रदान गर्ने विषयमा प्रत्येक विद्यालयहरुले विद्यालयमा छलफल गरेर क्रियाकलाप अघि बढाउने निर्णय भएको अध्यक्ष उपे्रतीले बताउनुभयो । टोल-टोलमा जान सम्भव नभए विद्यालयका एउटा कक्षालाई एकदिन र अर्को कक्षालाई अर्कोदिन गरी पठनपाठन गर्न पनि विद्यालयहरुले छलफल गरेर पहल गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा विद्यालयको परिस्थिति, वर्तमान अवस्था र गाउँको अवस्थालाई नियालेर विद्यालय सञ्चालन सम्बन्धमा छलफल भएको अध्यक्ष उपे्रतीले बताउनुभयो । मनहरी गाउँपालिकामा हाल ३२ वटा सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालय गरी जम्मा ४० वटा विद्यालयहरु रहेका छन् ।