हेटौँडाः हेटौँडा–५, पिप्लेमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् भने अन्य ४ जना घाइते छन् । शनिबार साँझ ६ बजेर ४० मिनेटको समयमा कान्तिलोकपथ सडकखण्डको हेटौँडा–५, पिप्लेमा चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्र ३–०२–०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ५१६९ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख ४२९५ नम्बरको ट्रेलर ट्रकको बम्पटको भाग मुनी मोटरसाईकल छिरेको थियो । दुर्घटनामा परी स्कुटर चालक हेटौँडा–१७, हटियाका ३४ वर्षीय रोहित तामाङको टाउको र दाहिने खुट्टामा चोट लागेर अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । तामाङलाई थप उपचारका लागि शनिबार साँझ ७ बजेर ५० मिनेटमा भरतपुरस्थित चितवन मेडिकल कलेज रिफर गरिएको छ ।

दुर्घटनामा परी स्कुटर पछाडी सवार रोहितकी श्रीमति २८ वर्षीया रमिला तामाङ, रोहित र रमिलाका छोरा ८ वर्षीय रोजन तामाङ, मोटरसाइकल चालक हेटौँडा–३, बसामाडीका ३५ वर्षीय गोपी तामाङ र मोटरसाइकलमा सवार हेटौँडा–१९, नेवारपानीका ३० वर्षीय विष्णु प्रजा घाइते भएका छन् । रमिलाको दाहिने खुट्टामा चोट लागेर मध्यम घाइते अवस्थामा छिन् भने रोजनको मुख र दाहिने खुट्टामा चोट लागेर अवस्था मध्यम छ । गोपीको टाउको र आँखाको भागमा चोट लागेको छ भने बिष्णु प्रजाको बाँया आँखा, निधार, मुख र दाहिने हातमा चोट लागेर अवस्था मध्यम छ । मोटरसाइकल, स्कुटर, ट्रक र ट्रक चालक हेटौँडा–१३, पदमपोखरीका ३० वर्षीय सुकराम घलान प्रहरीको नियन्त्रणमा रहेको छ ।