कार्यशालामा सहभागी गैससकर्मीहरु ।

हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तहमा स्वायत्त पाठ्यक्रम निर्माण गर्न आवश्यक तयारी सुरु गरेको छ । समयसापेक्ष, रोजगारीको अवसरलाई विश्लेषण गरेर उपयुक्त पाठ्यक्रम तयारीका लागि क्याम्पसले प्रक्रिया अगाडि बढाएको हो । स्वायत्त पाठ्यक्रम निर्माणका लागि क्याम्पसले सरोकारवालासँग कार्यशाला आयोजना गरेको छ ।

मंगलबार मकवानपुर जिल्लाका गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा स्नातक तहको स्वायत्त पाठ्यक्रम निर्माणसम्बन्धमा कार्यशालाको आयोजना गरेको हो । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा मकवानपुर बहुमुखी क्याम्पसले स्वायत्त पाठ्यक्रम निर्माणको तयारी गरेको हो । मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक केशवप्रसाद तिमल्सिनाको संयोजकत्वमा स्वायत्त पाठ्यक्रम निर्माण समन्वय समिति नै गठन गरिएको छ ।

कार्यशालामा सहभागी गैससकर्मीले स्नातक, स्नात्तकोत्तर तहको अध्ययन पूरा गरे पनि त्यस्ता विद्यार्थीमा कम्प्युटरसम्बन्धी सीप, वैठकको माइन्युट लेख्ने प्रक्रिया, कार्यक्रम सञ्चालनको क्षमता नहुँदा काम गर्ने अवसर प्रदान गर्न कठिनाई भइरहेको बताउँदै सैद्धान्तिक एवम् विषयगत ज्ञानसँगै प्रयोगात्मक पक्षमा पनि सक्षमता जरुरी रहेको औँल्याएका थिए । शून्यबाट सिकाउनु पर्ने, सिकेको केही समयमै जिम्मेवारी छाड्ने अवस्थाले समस्या भइरहेको गैससकर्मीको भनाइ थियो । टिक्ने, बिक्ने जनशक्ति आवश्यक रहेको गैससकर्मीले बताए ।

मकवानपुर क्याम्पसले रोजगारीको सम्भावना रहेको क्षेत्रका सरोकारवालासँग नियमित अन्तरक्रिया र आवश्यक सल्लाह, सुझाव लिने प्रयास गर्ने संयोजक तिमल्सिनाले जानकारी दिनुभयो । मकवानपुर क्याम्पसले छिट्टै सामुदायिक र निजी विद्यालयका पदाधिकारी, स्थानीय सरकारका प्रमुख, उद्योगी, व्यवसायी, अफिसर्स क्लब क्लबसँग समेत छलफल गरी उपयुक्त पाठ्यक्रम तयार पारिदने बताइएको छ ।