हेटौँडाः यही पुस १३ गतेदेखि हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । सन् २०२५ को पूर्वसन्ध्यामा होटल एशोसिएसन मकवानपुरले ४ दिने सडक खाना महोत्सव आयोजना गर्ने भएको हो ।
‘सडकमा जाऔं, सडकमा खाऔं, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ होटल एशोसिएसन अफ मकवानपुरले सडक खाना महोत्सवको आयोजना गर्ने तयारी गरेको हो । पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै सडक खाना महोत्सव गर्ने तयारी गरिएको होटल एशोसिएशन मकवानपुरका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक शंकरलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
हेटौंडा–४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा पुस १३ गतेदेखि १६ गतेसम्म सडक खाना महोत्सव हुने संयोजक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । महोत्सवमा खानाका पारखीहरुलाई परम्परागतदेखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरुको साँस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
५० वटा स्टलहरु राखिने महोत्सवमा १४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकका अनुसार महोत्सवमा ४० हजार खानाका पारखीले अवलोकन गर्ने र ७० लाख रुपैयाँसम्म कारोवार हुने अनुमान गरिएको छ । महोत्सव संचालनका लागि सुरक्षा निकाय र आवश्यक स्वयंसेवक परिचालन, सुरक्षाको व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका व्यवस्थापन हुनेछ भने महोत्सवमा विभिन्न साँस्कृतिक नाचहरुको प्रवद्र्धनको व्यवस्था गरिएको छ ।