हेटौँडाः नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । पटक–पटक मिति तोकिएर पनि सर्दै आएको निर्वाचन कार्यक्रम अन्ततः शुक्रबार सम्पन्न भएको हो । शुक्रबार सम्पन्न निर्वाचनबाट बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका कृष्ण सारु मगर निर्वाचित हुनुभएको छ । कृष्ण सारु मगरले नुवाकोटका शिव देवकोटालाई पराजित गर्नुभएको हो । यसअघि २ कार्यकाल महासचिवको जिम्मेवारी सम्हाल्नु भएका कृष्णले वर्तमान अध्यक्ष शिवलाई पराजित गर्नुभएको हो ।

शुक्रबार सम्पन्न निर्वाचनमा बागमती प्रदेशका १० जिल्लाका ९५१ सदस्य मध्ये ८३६ जनाले मतदान गरेका थिए । प्रदेशका १० जिल्लामध्ये शुक्रबार मध्यरातमसम्म ९ जिल्लाको मतपरिणामअनुसार कृष्णले ४३५ मत प्राप्त गर्नुभएको छ भने शिवले ३२६ मत प्राप्त गर्नुभएको छ । सिन्धुली जिल्लाको भने अन्तिम मत परिणाम प्राप्त हुन नसकेको निर्वाचन समितिका सदस्य भानुभक्त आचार्यले जानकारी दिनुभयो । सिन्धुलीमा ८४ जना मतदातामध्ये ७५ मत खसेको थियो । ९ वटा जिल्लाको नतिजाअनुसार कृष्ण १०९ मतले अगाडि रहनुभएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित हुनुभएको हो । शुक्रबार सम्पन्न निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गर्नुभयो । अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का आकांक्षी सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त गर्नुभयो । महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित हुनुभएको छ भने गणेश अधिकारी ४९ मतसहित पराजित हुनुभयो । महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा अर्की आकांक्षी प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

महासंघको सचिवमा केशव सुवेदी निर्वाचित हुनुभएको छ । इन्द्रप्रसाद बञ्जारालाई हराउँदै केशव सुवेदी महासंघका सचिवमा निर्वाचित हुनुभएको हो । सुवेदीले ७३ मत प्राप्त गर्दा बञ्जाराले ३३ मत मात्र प्राप्त गर्नुभयो । कोषाध्यक्षमा प्रदीप अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ५२ मत प्राप्त गर्दै विजयी हुनुहुँदा एमपी शर्माले ५१ मत प्राप्त गर्नुभयो । यस्तै सहसचिवमा शिव प्रसाद चौलागाईं निर्वाचित हुनुभएको छ । सहसचिवमा निर्वाचित चौलागाईले ६५ मत प्राप्त गर्दा अर्का आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गर्नुभयो । समावेशी सहसचिवमा रुपा गुरुङलाई हराउँदै सन्नु रिजाल निर्वाचित हुनुभएको छ । रिजालले ५८ मत पाउँदा गुरुङले ४० मत मात्र प्राप्त गर्नुभयो । निर्वाचन कार्यक्रम अन्तर्गत कूल ११७ जना मध्ये १०७ जनाले मात्र मतदान गरेका थिए ।

यस्तै महिला सदस्यमा स्मिता अर्जेल ४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभयो । जनजाति सदस्यतर्फ सानुमाया गुरुङ ४९ मतसहित निर्वाचित हुनुभयो । खुला सदस्यमा सरोज पौडेल (६५ मत), रविन ढुंगाना (५९ मत), श्रीराम अर्जुन दहाल (५७ मत), श्यामलाल दुलाल (५३ मत), सुमन दाहाल (५२ मत), अनिल पराजुली (५१) र कृष्णा विष्ट (५० मत) विजयी हुनुभएको छ ।