हेटौँडाः नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत आज शुक्रबार मतदान हुँदैछ । ३ वर्षे कार्यकालका लागि आज नयाँ नेतृत्व चयन गर्न मतदानको कार्यक्रम हुन लागेको हो । निर्वाचन समितिले शुक्रबार बिहान १० बजेदेखि दिनको ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । महासंघका १ ससय १७ साधारण सदस्य छन् ।
निर्वाचन समितिले बिहीबार अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि सुरेश श्रेष्ठ, बालकृष्ण अधिकारी, अञ्जली थापा र पोष्टराज अधिकारीको उम्मेदवारी कायमै रहेको छ । उम्मेदवारी फिर्ता लिने पूर्वनिर्धारित समयअनुसार अध्यक्षका आकांक्षी शिवकुमार रिजालसहित उपाध्यक्षका आकांक्षी रविन्द्र गौतम, सचिवका आकांक्षी अशोक सुजन श्रेष्ठ र खुला सदस्यकी आकांक्षी मञ्जिता मैनालीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनको कार्यक्रमअन्तर्गत मतदानका लागि हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा मतदानस्थल तय गरिएको छ । अध्यक्षका आकांक्षी सुरेश श्रेष्ठ समृद्ध समाज दैनिकका सम्पादक तथा रेडियो निकासका स्टेशन म्यानेजर हुनुहुन्छ भने मकवानपुर बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका सहायक प्राध्यापक समेत हुनुहुन्छ । करिब २ दशकदेखि पत्रकारितामा क्रियाशील श्रेष्ठ स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । बालकृष्ण अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुनुहुन्छ । प्रेस चौतारी मकवानपुरका अध्यक्ष समेत रहनुभएका अधिकारी स्थानीय टिम टेलिभिजनमा पनि आवद्ध हुनुहुन्छ । अधिकारी प्रेस युनियनको समर्थनमा प्रेस चौतारीको उम्मेदवार हुनुहुन्छ । अध्यक्षका आकांक्षी अञ्जली थापा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष समेत हुनुहुन्छ । समाजवादी प्रेस संगठनसहित विभिन्न संगठनको समर्थनमा थापा अध्यक्षको उम्मेदवार बन्नु भएको हो । थापा राष्ट्रिय समाचार समितिका लागि हेटौँडाबाट समाचार लेख्नुहुन्छ ।
अध्यक्षका अर्का आकांक्षी पोष्टराज अधिकारी नयाँ पत्रिकाका लागि हेटौँडाबाट समाचार लेख्नुहुन्छ । अधिकारी स्थानीय रेडियो मकवानपुरमा पनि आवद्ध हुनुहुन्छ । प्रेस युनियन मकवानपुरका पूर्वअध्यक्ष समेत रहनुभएका अधिकारी स्वतन्त्र उम्मेदवारको रुपमा रहनुभएको छ । खुला उपाध्यक्षमा गणेश अधिकारी र ध्रुब अधिकारीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा प्रतिक्षा न्यौपाने र भावना रिजालको उम्मेदवारी परेको छ । सचिवमा केशव सुवेदी र इन्द्रप्रसाद बञ्जाराको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा प्रदीप अधिकारी र यमप्रसाद पौडेलले उम्मेदवारी दिनुभएको छ । खुला सहसचिवमा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी परेको छ । यस्तै समावेशी सहसचिवमा सन्नु रिजाल र रुपा गुरुङको उम्मेदवारी परेको छ । दलित सदस्यमा सञ्जीव सुनार र सुमित विश्वकर्माको उम्मेदवारी परेको छ भने महिला सदस्यमा स्मिता अर्जेल र जमुना थिङको उम्मेदवारी परेको छ । जनजाति सदस्यमा सानुमाया गुरुङ र जयराम मोक्तानको उम्मेदवारी परेको छ ।
खुला सदस्य ६ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा जीवराज बख्रेल, श्यामलाल दूलाल, कुमारमणि हुमागाई, मञ्जिता मैनाली, श्रीराम अर्जुन दाहाल, कृष्णा विष्ट, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाईबाको उम्मेदवारी परेको छ । केन्द्रीय परिषद् सदस्यका लागि कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारीको उम्मेदवारी परेको छ । केन्द्रीय परिषद् सदस्यमा २ जना चयन हुनुहुनेछ ।