हेटौँडाः आगामी पुस १२ गते शुक्रबार हेटौंडा–१२ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिँदैछ । बुधबार हेटौंडा–१६ नम्बर वडाका अध्यक्ष रामकृष्ण कोइरालाले पत्रकार सम्मेलनमार्फत “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” नारासहित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको बताउनुभयो । वडालाई निकृष्ट बालश्रम, बाल विवाहमुक्त घोषणा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिनुभयो ।
५१ वटा सूचकमध्ये ४७ वटा सूचकमा १०० प्रतिशत र बाँकी सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम नतिजा पूरा भएकाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो । घरधुरी तथ्यांक संकलन सर्वेक्षण–२०७९ अनुसार १ हजार ६ सय ६० घरधुरी रहेको छ । १८ वर्षभन्दा मुनिका २ हजार ३ सय ८० बालबालिका रहेको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । १ हजार १ सय ७९ बालक र १ हजार २ सय १ बालिका रहेको बताउनुभयो ।
सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहित ६ वटा विद्यालय संचालनमा रहेका छन् । यसैगरी २१ वटा बाल समूह र १ वटा बाल सञ्जालमा ५ सय २५ बालबालिका आबद्ध छन् । ५ सय ४५ मात्र बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । २०७९ साल मंसिर २४ गतेबाट वडास्तरीय अभिमुखीकरण र सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो । बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार गर्दा बालबालिकाको अधिकारको कर्तव्यबोध गराउनु अभिभावकको दायित्व भएको उहाँको भनाइ छ ।