हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले ६० किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–५, घुसुकपुरेका कर्म साह सोनार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद गरेको चाँदीको मूल्य एक करोड दुई लाख रुपैयाँ बराबर हुने बताइएको छ ।

शनिबार ११ बजेर २० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जबाट चाँदी बरामद गरेको हो । बीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कुटरलाई रोकेर सुरक्षाजाँच गर्दा स्कुटरको खुट्टा राख्ने ठाउँमा फल्स बटम बनाई चाँदी तस्करी गरिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक कारवाही अगाडि बढाएको जनाएको छ ।

बरामद भएको चाँदीसहित पक्राउ परेका सोनार ।