उपाधि साथ महाचुनी माध्यमिक विद्यालयको टिम ।

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । मंगलबारबाट इन्द्रसरोवर गाउँपालिकामा सुरु भएको अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेभीचौरमा सम्पन्न भएको प्रतियोगिताको उपाधि इन्द्रसरोवर–५ स्थित महाचुली माध्यमिक विद्यालयले जितेको छ ।

७ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गर्दै महाचुली उपाधि विजेता बन्दा २ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित इन्द्रसरोवर–३ स्थित वात्सल्यदेवी माध्यमिक विद्यालय उपविजेता बनेको छ । यस्तै २ स्वर्ण, २ रजत र १ कास्यसहित कालिका माध्यमिक विद्यालय तृतीय भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट छुट्याएको थियो । गाउँपालिकामा रहेका २१ वटा विद्यालयहरुबाट ६ वटा माध्यमिक तहका विद्यालयबाट करिब २ सय ५० जना विद्यार्थीको प्रतियोगितामा सहभागिता रहेको थियो ।

प्रतियोगितामा महिला÷पुरुष भलिबल, एथ्लेटिक्स लगायतका खेलहरु सञ्चालन भएका थिए । कक्षा–१२ सम्म अध्ययनरत १८ बर्षभन्दा कम उमेर समूहका विद्यार्थीको प्रतियोगितामा सहभागिता रहेको प्रतियोगितामा सहभागी विद्यार्थी तथा प्रशिक्षकको खेल अवधीभर निशुल्क खाना र खाजाको व्यवस्था गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र वितरण गरिएको छ ।
एथ्लेटिक्स तर्फको प्रथम र द्वितीय हुने खेलाडीहरु मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । गाउँपालिकाको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तका अनुसार भलिबल खेलमा प्रथम खेलाडीहरुलाई समूहमा विभाजन गरेर जिल्लाको प्रतियागितामा सहभागी गराउने उहाँले बताउनुभयो । सम्पूर्ण पालिकाहरुले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएर जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय प्रतियोगिताको मिति तय गरेपछि बन्द प्रशिक्षणमा राख्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको सभाध्यक्षमा तथा संघीय सरकारका प्रमुख सचेतक मधेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह भएको थियो । पुरस्कार वितरण समारोहमा गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । अन्य पालिकाहरुले पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीलाई अगाडि बढाइरहेको छ ।