हेटौँडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन विज्ञान संकायको कार्यालय ।

हेटौँडाः कृषि तथा वन विज्ञान विश्वविद्यालयले दोस्रो संस्करणको ‘कृषि प्रदर्शनी तथा कृषक मेला–२०८१’ को आयोजना गर्दैछ । आइतबार पत्रकार सम्मेलन गर्दै ‘कृषि रुपान्तरणको प्रमुख आधार, नवप्रवर्तन, उद्यम र प्रविधि विस्तार’ भन्ने नाराका साथ मंसीर २९ गतेदेखि पुस ३ गतेसम्म (१४–१८ डिसेम्बर, २०२४) मेला आयोजना गर्न लागेको प्रदर्शनीको सचिवालय सदस्य ज्ञानवन्धु शर्माले जानकारी दिनुभयो ।

चितवन जिल्लाको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयको कृषि संकाय परिसरमा मेला आयोजना हुनेछ । वन पैदावर सम्बन्धी विभिन्न स्टलहरु र मानव वन्यजन्तु व्यवस्थापन सम्बन्धी प्लेनरी सेसन पनि संचालन गरिने छ । कार्यक्रमले कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका साथै किसानहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नेछ ।

कृषि प्रदर्शनी तथा कृषक मेलामा कृषि, पशु व्यवसाय तथा भेटेरिनरी र वन क्षेत्रका १०० भन्दा बढी स्टलहरू रहनेछन् । साथै १० हजार भन्दा बढी सहभागीहरु (किसान, शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थी, उद्यमी व्यवसायी र सरोकारवाला) र २०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत मंसीर २९ गते शनिबार उद्घाटन समारोह, मंसीर ३० गते आइतबार कृषि क्षेत्रको नीतिगत बहस, पुस १ गते सोमबार प्यानल छलफल, कृषि रूपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालाबीच छलफल, पुस २ गते मंगलबार दिगो पशुपालन, भेटेरिनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी छलफल हुनेछ भने बुधबार समापन समारोह हुनेछ । यसैगरी कृषि प्रदर्शनी तथा कृषक मेला अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू, साँस्कृतिक प्रतियोगिताका साथै कृषि, पशुपन्छी तथा वनका क्षेत्रमा उद्यम, व्यवसाय, नवप्रवर्तन र अनुसन्धान मार्फत् योगदान पुर्याएका यस विश्वविद्यालयका पूर्व विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम पनि हुनेछ ।