हेटौँडाः स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा–१२ को मतगणना सुरु भएको छ । हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाकक्षमा मतगणना कार्य सुरु भएको हो ।
आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म चलेको थियो । १२ नम्बर वडामा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४ सय ८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि कांग्रेसका अर्जुन प्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बनेसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।