हेटौँडाः हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सोमबारदेखि शुरु भएको छ । “हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मूल नारासहित अभियान शुरु भएको हो । हरेक वर्ष लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गरे पनि लैंगिक हिंसाका घटनामा भने कमि आएको छैन ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बलात्कारदेखि घरेलु हिंसाका घटनाको संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०७७/७८ मा २ सय ७६, आर्थिक वर्ष २०७८/७९ मा ४ सय ३९, आर्थिक वर्ष २०७९/८० मा ४ सय ३२ र आर्थिक वर्ष २०८०/८१ मा ३ सय ८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २ सय २५, आर्थिक वर्ष २०७८/७९ मा ३ सय २६, आर्थिक वर्ष २०७९/८० मा ३ सय ६७, आर्थिक वर्ष २०८०/८१ मा एक सय ८० घरेलु हिंसाका घटनाको मिलापत्र भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्ममा २ सय ७४ घरेलु हिंसाका घटना प्रहरी मिलापत्र गर्न नसकिएपछि सम्बन्धित निकायमा पठाएका छन् ।
यस्तै आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्ममा एक सय ८४ घरेलु हिंसाका घटना प्रहरीले पन्छाउन सकेको छैन । आर्थिक वर्ष २०७७/७८ मा ६५, आर्थिक वर्ष २०७८/७९ मा ४२, आर्थिक वर्ष २०७९/८० मा ४५ र आर्थिक वर्ष २०८०/८१ मा ५४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् । २०८१ साल साउनदेखि कात्तिकसम्म मात्र १० वटा जबरजस्ती करणीका घटना दर्ता हुँदा एउटा जबरजस्ती करणी प्रयास, बाल यौनदूव्र्यवहारका ५, बहुविवाहका ४, कर्तव्यज्यानका ३, ज्यान मार्ने उद्योगका २, भवितव्य ज्यानका ११, फुटकर ज्यान सम्बन्धी २ वटा घटना दर्ता भएका छन् ।
९१ घरेलु हिंसाका घटना दर्ता हुँदा ३६ मिलापत्र, २५ सम्बन्धित निकायमा पठाएको र ३० वटा अझै काम गर्न बाँकी छ । घरेलु हिंसा मात्र नभई अन्य हिंसा समेत हुने गरेका छन् । जसमा ६२ वटा घटना दर्ता हुँदा ३९ मिलापत्र, २ वटा सम्बन्धित निकायमा पठाएको र २१ वटा अझै काम गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसरी हिंसाको घटना बढ्दै गर्दा १२ जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर ४ महिनामा मात्र आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म २०६ वटा बलात्कारका घटना, २४ वटा बलात्कारको प्रयास, ४४ वटा बाल यौनदूव्र्यवहार, ३७ बहुविवाह, मानवबेचबिखनका २ वटा, बोक्सीको आरोपमा हिंसा भएका २ वटा घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले शिक्षित व्यक्तिहरु नै अबुझ बन्दा हिंसाका घटना न्यूनीकरण हुन नसकेको बताउनुभयो । मानिसमा हिंसा सहनु हुँदैन भन्ने मानसिकताको विकाससँगै घटना बाहिर आउन थालेको उहाँको भनाई छ ।