हेटौँडाः हेटौँडामा भएको प्रथम संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय व्याड्मिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मकवानपुर जिल्ला व्याड्मिन्टन संघको आयोजनामा शनिबार हेटौंडा–११, थानाभर्याङस्थित बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न भएको स्वर्गीय बीके वोस स्मृति अन्तरविद्यालय व्याड्मिन्टन प्रतियोगितामा हेटौँडा–४ स्थित नवोदय शिशु सदनले उपाधि जितेको छ ।
प्रतियोगिता अन्तर्गत १३ बर्ष उमेर समूहका बागमती गाउँपालिकास्थित सूर्य माध्यमिक विद्यालयका सर्गम भ्लोन प्रथम हुँदै सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । १३ बर्ष उमेर समूहमा पुरुषतर्फ हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनका अभिराम अधिकारी द्वितीय हुँदा हेटौँडा–२, स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कूलका स्वर्ण विक्रम सिंह ठकुरी तृतीय भएका छन् ।
यस्तै, १७ बर्ष उमेर समूहबाट पुरुषतर्फ सनराईज बोर्डिङ स्कूलका निर्णय थापा प्रथम, इन्स लो द्वितीय र सूर्य माध्यमिक विद्यालयका सुदीप मोक्तान तृतीय भएका छन् भने महिलातर्फ १७ बर्ष उमेर समूहबाट हेटौँडा–४ स्थित नवोदय शिशु सदनकी प्रसिद्धि मिश्रा प्रथम, नवोदयकै सुजला सापकोटा द्वितीय र हेटौंडा–८ स्थित कमाने एकेडेमीकी सजिना कार्की तृतीय भएकी छिन् । १३ बर्ष उमेर समूहमा महिलातर्फ नवोदय शिशु सदनकी विनिशा गुरुङ प्रथम, नवोदयकै मकत्सा खतिवडा द्वितीय र कमाने एकेडेमीकी निकिता भट्टराई तृतीय भएकी छिन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको मकवानपुर जिल्ला व्याड्मिन्टन संघका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ । हेटौंडा–१० स्थित सिजन स्पोर्टस् हाउसको सह–आयोजनामा सम्पन्न भएको प्रतियोगितामा मकवानपुरको सामुदायिक र संस्थागत विद्यालयबाट १३ बर्ष र १७ बर्ष उमेर समूहका महिला तथा पुरुष गरी करिब १ सय २० जना खेलाडीहरुको सहभागिता रहेको सदस्य नरेन्द्र मोक्तानले बतााउनु भएको छ । प्रतियोगितामा स्वर्गीय बीके वोसका छोरा अभिषेक वोस र छोरी माधवी वोसले प्रायोजन गर्नु भएको हो ।
संघका वरिष्ठ उपाध्यक्ष विजय सिंह ठकुरीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह भएको हो । पुरस्कार वितरण कार्यक्रममा संघकी उपाध्यक्ष माधवी वोस, देव घिमिरे, सचिव प्रल्हाद उप्रेती, कोषाध्यक्ष विरु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।