चार्जिङ स्टेशन ।

हेटौँडाः हेटौँडा–४, पशुपति मन्दिर अगाडि पशुपति ईभी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । यातायात व्यवसायी वेश खड्कीले चार्जिङ स्टेशन सञ्चालनमा ल्याउनुभएको हो । हाम्रो ईभी सेवा समेत सञ्चालन गर्दै आउनु भएका खड्कीले आफ्नै विद्युतीय गाडी चार्जिङ गर्ने र अन्य निजी तथा भाडाका विद्युतीय गाडी चार्ज गरेर व्यवसाय समेत हुने भएपछि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको बताउनुभयो ।

करिब ३५ लाख रुपैयाँ लागतमा आफ्नै स्वामित्वको डेढ कठ्ठा जमिनमा चार्जिङ स्टेशन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । ६ वटा चार्जिङ युनिट रहेको चार्जिङ स्टेशन २४ घण्टा सञ्चालनमा रहनेछ । झण्डै दुई दशक हेटौँडा–भीमफेदी–काठमाडौं छोटो मार्गमा डिजलबाट चल्ने सुमो सेवा सञ्चालन गर्दै आउनुभएका खड्कीले दसैं अघि मात्रै सुमो विस्थापित गरी ९ वटा ईभी सञ्चालनमा ल्याउनुभएको हो । पछिल्लो समय देशव्यापी विद्युतीय साधनको प्रयोग बढ्दै गएको छ भने चार्जिङ स्टेशन पनि निजीक्षेत्रबाट सञ्चालनमा आउने क्रम बढेको छ । पशुपति ईभी चार्जिङ सेन्टरमा यात्रुका लागि खाजा, खाने होटलका साथै चालकलाई विश्रामस्थल समेत व्यवस्था गर्ने सञ्चालन खड्कीले बताउनुभएको छ ।