हेटौँडा रनबारे जानकारी गराउनुहुँदै नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेसहित सदस्यहरु ।

हेटौंडाः भोलि मंगलबार हेटौंडा रन प्रतियोगिता–२०८१ हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा हेटौँडा रन प्रतियोगिता हुने भएको हो ।

शुक्रबार उपमहानगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरेले प्रतियोगिताको बारेमा जानकारी दिनुभएको थियो । प्रतियोगितामा सहभागी हुनका लागि हेटौंडा उपमहानगरपालिकाका स्थायीवासी हुनुपर्ने उहाँले बताउनुभयो । हेटौंडा–१०, बुद्धचोकबाट सुरु हुने दौड भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शितलमहल चोक, ओमभवन हँुदै पुन बुद्धचोकमा आएर ५ किलोमिटरको दौड पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष रविन्द्र घिमिरेका अनुसार प्रतियोगितामा करिब ३ लाख रुपैयाँको खर्च अनुमान गरिएको छ । प्रतियोगिताको उपाधि विजेताले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । यस्तै सान्त्वना हुनेले ५ हजार, पाँचौं हुनेले ३ हजार र प्रोत्साहन पुरस्कार स्वरुप २ जनालाई ४ हजार रुपैयाँको नगद पुरस्कार प्रदान गरिने आयोजकले उहाँले बताउनुभयो । प्रतियोगिताका लागि ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।