फाइल तस्वीर ।

हेटौंडाः चैनपुर जेसीजको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा जारी दोस्रो संस्करणको खुला फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । मनहरी वडा–४ स्थित गोलघर खेलमैदानमा प्रतियोगिताको फाइनल खेल हुनेछ । सोमबार हुने प्रतियोगिताको फाइनल खेलमा उपाधिका लागि मकवानपुरगढी गाउँपालिकाको जेसीआई मकवानपुरगढी र परेली एफसीको टिमबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेलका लागि जीतको लक्ष्यसहित दुबै टिम मैदानमा उत्रने छन् ।

पहिलो चरणमा टिएनटी एफसीलाई २–१ गोलअन्तरले हराउँदै परेली युवा क्लब विजयी भएको थियो भने पहिलो खेलमै हेटौंडा उपमहानगरपालिकाको कमाने फुटबल एकेडेमीलाई ३–० गोलअन्तरले हराउँदै जेसीआई मकवानपुरगढीले सहज जीत दर्ता गरेको थियो । क्वार्टरफाइनल खेलमा पदमपोखरी युनाईटेडलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै जेसीआई मकवानपुरगढीले सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो भने जनसिद्ध युवा क्लबलाई २–० गोलअन्तरले हराउँदै परेली एफसी क्लब सेमीफाइनलमा प्रवेश गरेको थियो ।

शुक्रबार भएको सेमीफाइनल खेलमा एफसी नमोबुद्धलाई २–१ गोलअन्तरले हराउँदै मकवानपुरगढीले फाइनलको यात्रा पूरा गरेको थियो भने शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मनहरी–५ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै एफसी परेली फाइनलमा प्रवेश गरेको थियो ।

१६ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । मनहरी गाउँपालिकाकोको सहयोगमा तथा ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो ।