हेटौँडाः यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । हेटौंडा–१२ स्थित वडा कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा ५ स्वतन्त्र र ९ वटा दलले वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएको छ ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्नुभएसँगै हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । कुल ८ हजार ५३ मतदाता रहेको हेटौँडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनमा लागि २ मतदानस्थलमा ९ वटा केन्द्रहरु कायम गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिर १६ मा हुने उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुसहित अन्य साना दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । वडा अध्यक्षको निर्वाचनमा एमालेले राजेश नगरकोटीलाई अघि सारेको छ । २०७९ को निर्वाचनमा पराजित भएका नगरकोटीले एमालेका तर्फबाट आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । बखान सिंह घलानको प्रस्ताव र अर्जुनप्रसाद अर्यालको समर्थनमा नगरकोटीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कांग्रेसका तर्फबाट २ पटक निर्वाचन हारेका अर्जुनप्रसाद तिवारीले मनोनयन दर्ता गराउनुभएको छ । तिवारीले सुदर्शनप्रसाद लामाको प्रस्ताव र शरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गराउनुभएको हो । उपनिर्वाचनका लागि माओवादी केन्द्रले रविन कुमार प्रधानलाई चुनावी मैदानमा उतारेको छ । सोही अनुसार प्रधानले मनोनयन दर्ता गर्नुभएको छ । माधवप्रसाद घिमिरेको प्रस्ताव र चन्द्रबहादुर घलानको समर्थनमा प्रधानले उम्मेदवारी दिनुभएको हो । प्रधान पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रँदै हुनुहुन्छ ।
उपनिर्वाचनका रास्वपाका आशा वीर बल, राप्रपाका प्रेम बहादुर भोलन, जसपाका छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपा लामा, नेमकिपाबाट फुलमाया तितुङ र नेकपा एकीकृत समाजवादीबाट बलराम बलले मनोनयन दर्ता गर्नुभएको छ । वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, कुमार पोखरेल, गीताकुमारी नेवार, छत्रप्रकाश अधिकारी र युनेश लामा सिन्तानले मनोनयन दर्ता गरेका छन् ।
पटक–पटक हारेका तिवारी जित्नेमा ढुक्क
संघीयता कार्यान्वयनपछि भएका २ वटा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेर पराजित भएका कांग्रेसका तिवारी वडा अध्यक्ष बन्न तेस्रो प्रयासमा हुनुहुन्छ । पटक–पटक हारेका तिवारी यसपटक जित्नेमा ढुक्क हुनुहुन्छ ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित बहादुर घलानसँग ३१ मतान्तरले पराजित हुनुभएका तिवारीले मंसिर १६ मा हुने निर्वाचनमा जित २०० प्रतिशत सुनिश्चित रहेको दावी गर्नुभयो । २०७९ को निर्वाचनमा तिवारीले १ हजार ३४० मत पाउनुभएको थियो भने घलानले १ हजार ३७१ मतसहित जित हासिल गर्नुभएको थियो । तिवारी २०७४ को निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी रहनुभएको थियो । सो निर्वाचनमा पनि घलानले चुनाव जित्दा तिवारी दोस्रो स्थानमा रहनुभएको थियो ।
हेटौंडा–१२ का मतदाताको सेवा र वडाको विकासका लागि आफूले चुनाव हारेपनि काम गरिरहेको उहाँले बताउनुभयो । आम नागरिकको समस्या समाधान गर्न निरन्तर प्रयत्न गरेकाले मतदाताले यसपटक जिताउने उहाँले विश्वास व्यक्त गर्नुभयो । गत निर्वाचनमा मतदाताले राम्रो मत दिए पनि केही प्राविधिक व्यवस्थापनको कमजोरीका कारण न्यून मतान्तरले हार व्यहोरेको उहाँले अनुभव सुनाउनुभयो
जित निश्चित छः नगरकोटी
गत निर्वाचनमा पराजित हुनुभएका एमाले उम्मेदवार नगरकोटी मंसिर १६ गते हुने निर्वाचनको नतिजा आफ्नो पकडमा रहेको बताउनुहुन्छ । वडामा पार्टी संगठनको अवस्था सुधार भएको र विकास निर्माण तथा सेवाप्रवाहमा पनि एमालेले उत्कृष्ट काम गरेकाले जित्न सहज रहेको उहाँले दावी गर्नुभयो ।
हेटौंडा–१२ का नागरिकका समस्याका विषयमा आफू जानकार भएपनि पदमा निर्वाचित हँुदा काम गर्न कठिन नभएको र आगामी निर्वाचनबाट जित निकाल्दै समस्या समाधान तथा विकास निर्माणका योजनासहित अघि बढ्ने तयारी रहेको उहाँले बताउनुभयो ।
एमालेले हेटौंडा–१२ लाई आफ्नो प्रभाव क्षेत्रको रुपमा समेत परिभाषित गर्ने गर्दछ । यद्यपी सो वडाको अध्यक्ष पदमा एमालेले हालसम्म जित्न सकेको छैन । अधिकांश वडा सदस्य पदहरुमा जित निकालेको एमाले अध्यक्ष पद भने जित्न सकेको अवस्था छैन । एमालेका एक नेताका अनुसार वडा अध्यक्ष पदमा जित सहज हुने बताए । कुल मतदाता संख्या मध्ये १ हजार ६०० मत ल्याएको खण्डमा जित्न सकिने उनको अनुमान रहेको छ । गत निर्वाचनको मत कायम रहने र नयाँ थपिएका तथा स्वतन्त्र मतमा प्रभाव बनाउन सकेको खण्डमा निर्वाचन एमालेको पोल्टामा पर्ने उहाँले बताउनुभयो । २०७९ को निर्वाचनमा एमालेले १ हजार ३२५ मत प्राप्त गरेको थियो ।
प्रतिस्पर्धात्मक माहोलमा जित निकाल्छुः प्रधान
माओवादी केन्द्रका उम्मेदवार रहेका प्रधानले निर्वाचन प्रतिस्पर्धात्मक हुने बताउनुभएको छ । विगतको शैलीमा नागरिकको मत प्राप्त हुँदा निर्वाचनको नतिजा आफ्नो पक्षमा रहने उहाँको भनाई छ । पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकाले केही चुनौतिहरुको सामना भने गर्नुपर्ने उहाँले बताउनुभयो । समग्रमा अन्य दलहरुको तुलनामा पार्टीको मत राम्रो रहेकाले जित्न समस्या नरहेको उहाँको भनाई छ ।
माओवादी केन्द्रका एक नेताका अनुसार माओवादीको अवस्था हेटौंडा–१२ मा नियन्त्रणमा नै रहेको छ । विगतमा पार्टीबाट अलग भएका व्यक्तिहरु पनि सम्मिलित भएकाले अवस्था थप सुधार भएको देखिएको उनले बताए । माओवादी भित्रको आन्तरिक समस्या नरहेपनि साम्प्रदायिक मतले केही प्रभाव रहन सक्ने उनले बताए । भुगोल र साम्प्रदायिक मतलाई सन्तुलन गर्न सकेको खण्डमा जित्न सहज रहेको उनको भनाई छ ।
यता रास्वपा भने नागरिकको असन्तुष्टिको मतलाई क्यास गर्ने योजनाका साथ चुनावी मैदानमा होमिएको छ । रास्वपाका उम्मेदवार आशा विर बलका अनुसार पछिल्लो समय पुराना दलहरु प्रतिको वितृष्णाको मतलाई संकलन गरेर जित्छौ । उता राप्रपा भने सके जित्ने, नभए प्रभाव जमाउने रणनीतिमा चुनावी मैदानमा होमिएको छ । पछिल्लो समय पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहको क्रेजलाई सदुपयोग गरेर निर्वाचन जित्ने राप्रपाको रणनीति रहेको छ । राप्रपा सो वडामा जित्नेमा ढुक्क नरहे पनि विगतको तुलनामा प्रभाव बढाउने गरी अघि बढेको छ । २०७९ को निर्वाचनमा राप्रपाका शरन सिं थिङले १८३ मत पाएका थिए ।