राम्रा विद्यालयको प्रतिनिधित्व गर्दै हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुली आफ्ना विद्यालयको गतिविधिबारे प्रस्तुती गर्नुहुँदै ।

हेटौँडाः शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जिल्लाका माध्यमिक तह सञ्चालन भएका विद्यालयका प्रधानाध्यापकहरुसँग शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रियाको आयोजना गरेको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा भएको अन्तरक्रियामा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकको सहभागिता रहेको थियो ।

अन्तरक्रियापछि समन्वय इकाईले तयार पारेको शैक्षिक सुधारका लागि २३ बुँदे प्रतिवद्धता जारी गरिएका छ । २३ बुँदे प्रतिवद्धताको प्रस्तावित सूचि समन्वय इकाई प्रमुख सुदीप गिरीले प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रियामा २ वटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालयका प्रधानाध्यापकले आफ्ना राम्रा अभ्यासहरु बारे जानकारी गराएका थिए । “शैक्षिक सुधारका लागि मकवानपुर प्रतिवद्धता–२०८१” पारित गरिएको बताइएको छ ।

अन्तरक्रियामा विद्यालयको सकारात्मक परिवर्तन र सुधारका लागि प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिएको थियो । अन्तरक्रियाको दोस्रो सत्रमा संस्थागत विद्यालयतर्फ हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका प्रिन्पील विनोद सुवेदी, बालज्योति माविका प्रधाननाध्यापक भरत अर्याल र हेटौँडा–९ स्थित प्रगति माविका सहायक प्रधानाध्यापक किशोर पराजुलीले आआफ्नो विद्यालयको विषयमा प्रस्तुती गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, वागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक दिपेन्द्र सुवेदी, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, शिक्षक महासङ्घ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीको पनि उपस्थिति रहेको थियो ।

राम्रा विद्यालयको प्रतिनिधित्व गर्दै हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुली आफ्ना विद्यालयको गतिविधिबारे प्रस्तुती गर्नुहुँदै ।