हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी चैनपूर जेसीज खुला फुटबल प्रतियोगितामा नमोबुद्ध एफसी क्लब र परेली एफसी क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
बुधबार मनहरी गाउँपालिकास्थित गोलघर खेल मैदानमा भएको पहिलो क्वार्टरफाइनल खेलमा ढेँडो एफसीलाई २–१ गोलअन्तरले हराउँदै नमोबुद्ध एफसी सेमीफाइनलमा प्रवेश गरेको हो भने दोस्रो क्वार्टरफाइनल खेलमा जनसिद्ध युवा क्लबलाई २–० गोलअन्तरले हराउँदै परेली एफसी क्लब सेमीफाइनलमा प्रवेश गरेको हो ।
नमोबुद्धको जीतमा पहिलो हाफको ११ औं मिनेटमा गोल गर्दै आकाश रानाले अग्रता दिलाएका थिए । दोस्रो हाफको ४२ औं मिनेटमा स्यामुयल सुनारले गोल गर्दै जीत दिलाएका हुन् । यस्तै दोस्रो खेलमा एफसी ढेँडोको अस्मित शेर्पाले ५५ औँ मिनेटमा एक गोल मात्र फर्काउन सफल भएका थिए । यस्तै एफसी परेली र जनसिद्ध युवा क्लबबीचको खेलमा परेलीका प्रित स्याङ्तान र समिप ढकालले समान एक–एक गोल गरेका हुन् । म्यान अफ द म्याच नमोबुद्धका स्यामुयल सुनार र परेलीका सलिल ढकाल म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसीर ३ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । मनहरी गाउँपालिकाकोको सहयोगमा तथा ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन भइहरेको छ ।