हेटौँडाः वागमती प्रदेश सरकारका मूख्यमन्त्री बहादुरसिंह लामाले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ । मूख्यमन्त्री लामाले बुधबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गरेर सय दिनमा सम्पन्न गरिएका मूख्य उपलब्धीहरु सार्वजनिक गर्नुभएको हो । नेपाली काँग्रेस र एमालेको गठबन्धनबाट गत साउन ९ गते बहादुरसिंह लामाको नेतृत्वमा सरकार गठन भएको बुधबार १ सय ११ दिन पूरा भएको छ ।
मूख्यमन्त्री लामाले आफ्नो नेतृत्वको सरकारले सय दिनको अवधीमा निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ । उहाँले सय दिनमा सरकारले ७ वटा बैठक बसी ३४ वटा निर्णयहरु गरेको जसअन्तर्गत ३ वटा ऐन र ७ वटा सुचनाहरु जारी भएको बताउनुभयो । त्यसैगरी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दीर्घकालीन सोचसहित दोश्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, मन्त्रालय तथा निकायको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन मूख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता गरी प्रगति समीक्षा कार्यको थालनी गरिएको, प्रदेशका सबै जिल्लाहरुबाट सार्वजनिक सेवा प्रवाहको कार्यलाई निरन्तरता प्रदान गरिएको, सेवा प्रवाहमा नागरिकको सरल पहुँच स्थापित गर्न विषयगत कार्यालय स्थापनामा जोड दिइएको, महिला, दलित, आदिवासी, जनजाति अपांगता भएका लगायतको हकहित प्रवद्र्धन तथा जीवनस्तर सुधारका महत्वपूर्ण कार्य गरेको मूख्य मन्त्री लामाले बताउनुभयो ।
यस्तै प्राकृतिक विपद्को समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सम्भारका लागि द्रुत प्रतिकार्य टोलीको गठन गरिएको र दशैंको पूर्वसन्ध्यामा हेटौंडादेखि काठमाडौ जोड्ने मूख्य ३ वटा प्रादेशिक सडक र प्रदेशका विभिन्न जिल्लाका सडकहरु सुचारु गरिएको, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास सम्बन्धी तालिम तथा गोष्ठी संचालन गरिएको लगायतका कार्यहरु आफ्नो सयदिने कार्यकालको महत्वपूर्ण उपलब्धि भएको मूख्यमन्त्री लामाले बताउनुभयो ।