मेची–महाकाली साइकलयात्री समूह ।

हेटौंडाः हिमालयन राइडर्स सोसाइटी मकवानपुरका सदस्यहरु शनिबारदेखि मेची–महाकाली साइकलयात्रा सुरु गरेका छन् । आइतबार दोस्रो दिन उनीहरु २३३ किलोमिटर दूरी पार गरी मिर्चैया आइपुगेका छन् ।

सोसाइटीका ३ जना सदस्यले मेची पुलबाट महाकालीसम्मको साइकल यात्रा सुरु गरेका छन् भने ३ जना सदस्यले तेस्रो पोखरा अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री च्याम्पियन्सिप (५० किलोमिटर) प्रतियोगितामा पहिलोपटक भाग लिएर उत्साहजनक खेल प्रदर्शन गर्न सफल भएका छन् । ६८ वर्षीय कृष्णप्रसाद आचार्य, ६२ वर्षीय पृथ्वी रायमाझी र ५७ वर्षीय बरुण खतिवडा मेची पुलबाट पहिलो दिन ११८ किलोमिटर दूरी पार गर्दै इनरुवा आइपुगेका थिए । दोस्रो दिन ११५ किलोमिटर दूरी पार गरी मिर्चैया पुगेर बास बसेको जानकारी प्राप्त भएको छ । तेस्रो दिन सोमबार चन्द्रनिगाहपुर पुग्ने योजना रहेको साइकलयात्री आचार्यले जानकारी दिनुभाये । चौथो दिन अर्थात मंगलबार साँझ हेटौँडा आइपुग्ने अर्का यात्री खतिवडाले जानकारी दिनुभएको छ ।

त्यस्तै चीनको आयोजना र नेपालको समन्वयमा पोखरामा भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगितामा सोसाइटीका सदस्य सीता श्रेष्ठ, हरिराम राई, आशिष थापा मगर सहभागी भएर उत्साहजनक खेल प्रदर्शन गरेका थिए । सहभागीलाई थप हौसला प्रदान गर्न सोसाइटीका अध्यक्ष राजु थापा मगर, संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्य विकास बानियाँ, राजेश थापा मगर, सुजित लामा पोखरास्थित खेल आयोजना स्थानमा उपस्थित भएका थिए ।

खेलमा पुरुष व्यक्तिगत र महिला व्यक्तिगत विधातर्फ चीनका प्रतियोगी प्रथम हुन सफल भएका थिए भने समूहतर्फ पहिलो, दोस्रो, तेस्रो, चौथो लगातार टप टेनसम्म नेपाली प्रतियोगीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।