होटल बासुकलाको सानोपोखरा शाखा ।

हेटौँडाः व्यावसायिक क्षेत्रमा निरन्तर कमजोर अवस्था रहिरहेको भनी चिन्ता गरिरहेको बेला हेटौँडा–४, पारिजातपथस्थित होटल बासुकला एण्ड फास्टफुडले आफ्नो शाखा हेटौँडा–५, सानोपोखरामा पनि विस्तार गरेको छ । होटल बासुकला सञ्चालनको ३१ वर्ष पूरा भएको अवसरमा कात्तिक १४ गतेदेखि अनौपचारिकरुपमा सानोपोखरा चोकमा सेवा सुरु गरेको शाखाको कात्तिक २२ गते औपचारिक उद्घाटन गरिएको थियो ।

होटल बासुकलाका सञ्चालक केशव बासुकलाकी नातिनी ५ वर्षीया काया बासुकलाले सानोपोखरा शाखाको उद्घाटन गरिन् । गत वर्ष मात्रै पारिजातपथस्थित होटल बासुकलाले होटलको स्तरीकरण गरेको थियो । नेवारी खाजासहित चाउमिन, ममसँगै मांसाहारी खाजाका पारखीलाई आकर्षित गर्ने गरी सहुलियत मूल्य र स्वादिष्ट सेवा प्रदान गर्दै आएको सञ्चालक विकास बासुकलाले बताउनुभयो ।

सानोपोखरा शाखामा एक पटकमा १० जना बसेर खाजा खान सकिने सानो आकारको शाखा विस्तार गरिएको र बसेर खाजा खाने भन्दा पनि प्याकिङ गरेर लैजाने र घर वा कार्यालयबाटै अर्डर अनुसारको डेलिभरी मागअनुसारको सेवा प्रदान गर्ने उद्देश्य रहेको बासुकलाको भनाइ छ । शाखा विस्तार गरिएको दुई साता हुँदै गर्दा व्यापार राम्रो रहेको बासुकलाले बताउनुभयो । पारिजातपथमा राम्रो व्यवसाय चल्दै गर्दा थोरै लगानीमा शाखा विस्तार गरेर आफ्नो ब्राण्डलाई विस्तार र थप स्थापित गर्ने प्रयास गरिएको बासुकलाको भनाइ छ ।