हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–२, सब्जि मण्डीमा बस र मोटरसाइकल एक आपसममा ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार पुर्व पश्चिम सडक खण्डमा खैरहनीबाट टाँडी तर्फ आउँदै गरेको म प्र ०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४प १९१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका–१३, अमिलियाका २१ वर्षीय सुनिल पौडेल, २० वर्षीय साहिल परियार र २१ वर्षीय सन्जय लामा घाइते भएका थिए । घाइते तिनै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा सुनिलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते साहिल र सन्जयलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ रिफर गरिएका छ । बस चालक सिराहाको मिर्चैया नगरपालिका–९, का ४६ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा लगिएको र मोटरसाइकल चालकको पहिचान नभएको प्रहरीले जनाएको छ ।