हेटौंडाः हेटौंडामा भएको प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप स्नुकर प्रतियोगिताको उपाधि आयोजक एस–वान स्नुकर क्लबका खेलाडी प्रयास कर्माचार्यले जित्नु भएको छ । बुधबार हेटौंडा–१० स्थित एस–वान स्नुकर क्लबमा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा लियम स्नुकर क्लबका खेलाडी जिनेश श्रेष्ठलाई ५–३ को सेटले हराउँदै एस–वान स्नुकर क्लबका खेलाडी प्रयास कर्माचार्यले उपाधि जत्नु भएको हो । यस्तै प्रतियोगितामा रोयल स्नुकर हाउसको खेलाडी विनय लामा र लियम स्नुकर हाउसको मिथुन लामा तृतीय हुनुभएको छ ।
उपाधिसँगै कर्माचार्यले ६० हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ भने उपविजेता श्रेष्ठले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्राप्त गर्नुभएको छ । यस्तै तृतीय स्थान हासिल गर्ने विनय र मिथुनले ६/६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बुद्ध स्नुकर हाउसका खेलाडी विवेक डङ्गोल राइजिङ प्लेयर घोषित हुँदै ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्न सफल रोयल स्नुकर हाउसका खेलाडी राजकुमार गोलेले पनि ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
ज्येष्ठ अनुभवी खेलाडी बुद्ध स्नुकर हाउसका खेलाडी दीपक बहादुर तामाङ र ४३/४३ स्कोर बनाएर हाई स्कोरर हुन सफल हुनु भएको जिनेश र प्रयासले प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगिताको सेमीफाइनल चरणको खेल वेष्ट अफ ७ मा खेलाइएको थियो भने फाइनल खेल वेष्ट अफ ९ मा खेलाइएको थियो । बुद्ध स्नुकर हाउसका सञ्चालक सञ्जु लामाको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा सदस्य जनरल श्रेष्ठको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा सदस्य जनरल श्रेष्ठले समाज र राष्ट्र निर्माणका लागि खेलकुद प्रतियोगिताले ठूलो भूमिका रहने बताउनुभएको छ । फुटबल, भलिबल लगायतका खेलमा जस्तै स्नुकरलाई पनि प्राथमिकता दिएर बजेट लगानी गरेमा खेलाडीहरु राष्ट्रियस्तरसम्म पुग्न सक्ने उहाँले धारणा राख्नुभयो । स्नुकर खेलमा आवद्ध भएका पदाधिकारीहरुले स्नुकरको समिति बनाएर यसको विकासका लागि पहल गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा तथा एस–वान स्नुकर क्लब र बुद्ध स्नुकर हाउसको आयोजना भएको सम्पन्न भएको प्रतियोगितामा ४४ जनाको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्की र नगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष चन्द्र शाहीको विशिष्ठ आतिथ्य रहेको थियो । प्रतियोगिताको समापन कार्यक्रममा एस–वान स्नुकर क्लबका सञ्चालक सुनील खड्गी, बिक्रम शाही, बुद्ध स्नुकर हाउसको सञ्चालक पूर्णभक्त लामा, स्कूलरोड युवा क्लबका संस्थापक अध्यक्ष समेन्द्र लामा, स्नूकर हाउसका सञ्चालकहरू यादव श्रेष्ठ, प्रताप लामा, अमर लामा, नितेश खन्डेलवाल, उर्गेन लामाको उपस्थिति रहेको थियो ।