हेटौंडाः मातृभूति साहित्य समाजका निवर्तमान अध्यक्ष माधव बहादुर पोख्रेललाई महाकवि लक्ष्मी प्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ बाट सम्मान गरिएको छ । बिहिबार साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब नवलपुरको संयुक्त आयोजनामा त्रिभुुवन माध्यमिक विद्यालय परिसरमा साहित्यकार पोख्रेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्म जयन्तीको अवसरमा १० हजार रुपैयाँको नगदसहित सम्मान गरिएको हो ।
कविता, नाटक, गीत लेखन, अभिनय तथा नाटक निर्देशनको माध्यमबाट पुर्याएको योग्दानको कदर गर्दै साहित्यकार पोखरेललाई सम्मान सम्पर्ण गरिएको साहित्य संगम मकवानपुरले जनाएको छ । पोख्रेलका नाटक कृति ‘आकांक्षाको चिता’ (२०६९), कविता संग्रह ‘रित्तिएको गाउँ’ (२०७०) र नाटक कृति ‘ऐनाभित्रको आकाश’ (२०७९) प्रकाशित छ ।
सम्मानपछि साहित्यकार पोख्रेलले २०६० सालपछि मातृभूमि साहित्य समाजमा जोडिएर साहित्य लेखनको सुरुवात गरेको बताउनुुभएको छ । उहाँले लक्ष्मी प्रसाद देवकोटा स्मृति सम्मान प्राप्त गर्दा आफूले लेखन क्षेत्रको जिम्मेवारी बढेको बताउनुभयो । साहित्यकार रमेशमोहन अधिकारीले लक्ष्मीप्रसाद देवकोटोको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले निबन्धकार, खण्डकाव्यकार र महाकाव्यकार देवकोटाले नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना गरेको बताउनुहुन्छ ।
यस्तै जिल्लास्तरीय कविता प्रतियोगितामा सरोज प्रसाद साह, कृष्णा लौँडारी र कृष्ण चन्द्र काफ्लेका कवितालाई उत्कृष्ट घोषित गरिएको छ । विप्लप आचार्यको कवितालाई सान्त्वना घोषित गरिएको छ । कविता प्रतियोगिता उत्कृष्ट हुनेले जनही ३ हजार रुपैयाँ र सान्त्वना हुनेले १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी हुन प्राप्त कविता मध्ये साहित्य संगमले १० वटा कविताको संक्षिप्त सूचि तयार पारेर बिहिबार देवकोटाको जन्मयजन्तीको कार्यक्रममा वाचनपछि उत्कृष्ट ३ र सान्त्वना १ छानेको हो ।
युग प्रकाश क्लबका अध्यक्ष दीपक शिवाकोटीको सभाध्यक्षमा तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको पनि आतिथ्य रहेको थियो ।