स्नुकर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा र जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्की ।

हेटौँडाः हेटौँडामा जिल्लास्तरीय मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको छ । बुद्ध स्नुकर हाउस र एस–वान स्नुकर क्लबको आयोजनामा तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोगमा शनिबारबाट मेयरकप स्नुकर प्रतियोगिता सुरु भएको हो । हेटौँडा–४ स्थित बुद्ध स्नुकर हाउसमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख मीना कुमारी लामाले गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगर प्रमुख लामाले सबै खेलमा आवद्ध भएका खेलाडीहरुले अनुशासित र मर्यादित तरिकाले अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले खेलाडीहरु कतिपय अवस्थामा दुव्यर्सनीमा फसेको कारणले गर्दा अभिभावकहरुले आफ्ना बालबालिका खेलमा लागेको मन नपाउने गरेको उहाँले बताउनुभयो । स्नुकर खेलले शारीरिक सँगसँगै बौद्धिक क्षमताको पनि विकास गर्ने बताउनुहुँदै अन्य खेलजस्तै स्नुकरको आफ्नौ महत्व हुने उहाँको भनाई छ । आफ्नो कार्यकालसम्म मेयर कप स्नुकरलाई निरन्तरता दिने प्रयास गर्ने प्रतिवद्धता पनि नगरप्रमुख लामाले व्यक्त गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्कीले सबै संघ, संस्थामा आवद्ध भएका पदाधिकारीहरुले व्यक्तिगत स्वार्थलाई मात्र नहेरी खेलकुदको विकास गर्ने कार्यमा लाग्नु पर्ने धारणा राख्नुभयो । कतिपय अवस्थामा खेलको नाममा बजेट संकलन गरेर आफ्नो व्यक्तिगत खातामा राख्ने गरेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ४४ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता बुद्ध स्नुकर हाउस र एस–वान स्नोकर हाउसमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ६० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, ६/६ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हाइ स्कोर ब्रेकर र राइजिङ प्लेयरलाई ५/५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । बुद्ध स्नुकरकी सञ्चालक सञ्जु लामाको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा नगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष चन्द्र शाही, नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामा, दि रिभाइबल युथ क्लका उपाध्यक्ष सुनिल खड्गी र नेपाल खड्गी समाजका अध्यक्ष सुक्रम खड्गी, एस–वान स्नुकरका सञ्चालक बिक्रम शाही, स्नुकर खेलाडी अमर लामा, यादव श्रेष्ठ, प्रताव लामा लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।