स्वास्थ्य मन्त्रालय अन्तर्गतको वार्षिक समिक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अध्ययन, अनुसन्धानका आधारमा सरकारले विकासका योजना तयार गर्नुपर्ने बताउनुभएको छ । उहाँले अनुसन्धान बिना नै विकास आयोजना कार्यान्वयन गर्दा सरकारको खर्च बढी र उपयोगिता कम भइरहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको वार्षिक समिक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेशको आवश्यकता र विकासको योजनामाथि तादत्म्यता कायम गर्न अध्ययन, अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो । मन्त्रालय र मातहताका निकायले वार्षिक तथ्यांक संकलन गरेर योजना निर्माण गर्दा उपलब्धी न्यून हुनेगरी काम भइरहेको उहाँको भनाई छ ।

मुख्यमन्त्री लामाका अनुसार विज्ञले गरेको यथार्थपरक अध्ययन प्रतिवेदनहरु सरकारले खरिद गरेर विकास आयोजनाहरु निर्माणमा अग्रसर हुनुपर्ने हुन्छ । प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुले पनि अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्देश्य अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न विषय अध्ययन गरी सेवा प्रवाह तथा अन्य उत्पादनमा अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो । सेवा प्रवाह र विकासका क्षेत्रमा सरकारको निरन्तर प्रयासका वावजुद पनि नागरिकहरुमा नकारात्मक असर देखिएकाले प्रदेश सरकारका निकायका ध्यान त्यसतर्फ केन्द्रीत गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । नागरिकको गुनासो र प्रदेश सरकारको प्रयासमा तादात्म्यता मिलाउन अनुसन्धान हुन जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

मुख्यमन्त्री लामाले कर्मचारीलाई सफा मानसिकताका साथ काम गर्न निर्देशन दिनुभयो । प्रदेश सरकारले स्थायित्वका लागि कर्मचारी व्यवस्थापनको क्षेत्रमा काम गरिरहेकाले उच्च मनोबलका साथ काम गर्न उहाँले निर्देशन दिनुभयो । भनसुन र पहुँचबाट हुने कामहरु अन्त्य गर्नेगरी सरकारले सरुवा, बढुवाका लागि प्रणालीको विकास गरिरहेको उहाँको दावी छ । सरकारले कर्मचारी सरुवा बढुवालाई व्यवस्थित गर्न कार्य सम्पादन मुल्यांकनलाई आधार बनाएर अघि बढिरहेको मुख्यमन्त्री लामाले बताउनुभयो । कर्मचारीले सुगम र राम्रो ठाउँको खोजी गर्न छाडेर सरुवा भएका स्थानमा जिम्मेवारीका साथ फलदायी काम गरेर देखाउन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदशे सरकार सक्रियताका साथ अघि बढेको बताउनुभयो । प्रदेशसभाबाट प्रदेश स्वास्थ्य ऐन पारित भएको र त्यसलाई कार्यान्वयन गरेर स्वास्थ्य क्षेत्रका समस्याहरु हल गर्नेतर्फ मन्त्रालय अघि बढेको मन्त्री थापाको भनाइ छ । गुनासोरहित गुणस्तरीय स्वास्थ्य सेवमामा आम नागरिकहरुलाई जोड्न मन्त्री थापाले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

भक्तपुर अस्पताल उत्कृष्ट घोषित

स्वास्थ्य संस्थालाई प्रशंसापत्रसहित सम्मान गरिँदै ।


कार्यक्रममा प्रादेशिक अस्पतालहरुलाई कार्यसम्पादनको आधारमा पुरस्कृत गरिएको थियो । प्रदेशका १३ अस्पताल मध्ये सबैभन्दा बढी अंक ल्याउँदै पहिलो स्थान हासिल गर्दै भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट घोषित भएको थियो । भक्तपुर अस्पतालले विभिन्न शिर्षक अन्तर्गत भएको मुल्यांकनमा कुल १०० अंक मध्ये ८३.४४ अंक प्राप्त गरेको थियो ।

त्यस्तै दोस्रो स्थानमा सिन्धुली अस्पताल रहेको छ । सिन्धुली अस्पतालले १०० अंक मध्ये ७८.४७ प्राप्त गरेको थियो भने तेस्रो स्थानमा धादिङ अस्पताल रहेको छ । धादिङले ७७.४७ अंक प्राप्त गरेको थियो । त्यसैगरी जनस्वास्थ्य कार्यालयको मुल्यांकनमा ७५.२४ अंकसहित जनस्वास्थ्य कार्यालय ललितपुर पहिलो स्थानमा रहँदै उत्कृष्ट भएको छ । दोस्रो स्थानमा जनस्वास्थ्य कार्यालय चितवन रहेको छ । चितवनले ७३.७५ अंक प्राप्त गरेको छ भने तेस्रो स्थानमा ७२.४९ अंकसहित जनस्वास्थ्य कार्यालय मकवानपुर रहेको छ ।

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सातर्फ ८८.२० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय काठमाडौं पहिलो स्थानमा रहन सफल भएको छ । ८८.१० अंकसहित दोस्रो स्थानमा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय मकवानपुर रहेको छ भने ८३.२० अंकसहित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय भक्तपुर तेस्रो स्थानमा रहेको छ ।