लागुऔषधसहित पक्राउ परेका डिम्डुङ र रुम्बा ।

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार लेवट प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३, लेवटबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ३३ प ९५७६ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा लागूऔषधसहित मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ का मोटरसाइकल चालक २५ वर्षीय बुद्ध बहादुर डिम्डुङ र हेटौंडा उपमहानगरपालिका–८, कमानेका नवीन रुम्बालाई लागुऔषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध डाईजेपाम ४१ एम्पुल, फेनार्गन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरी जम्मा १२१ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।