सांकेतिक तस्वीर ।

हेटौँडाः विभिन्न घटनामा रसुवा र चितवन जिल्लामा ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारी अनुसार रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५, वेत्रावतीमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय लक्ष्मण नगरकोटी रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान १ बजेर १५ मिनेटको समयमा ५६ वर्षीय लक्ष्मण नगरकोटी आफ्नै घरमा अत्याधिक मादक पदार्थ सेवन गरी अचेत अवस्थामा फेला परेका थिए । नगरकोटीलाई उपचारका लागि नुवाकोटको जिल्ला अस्पताल त्रिशुली लगिएकोमा बिहान १ बजेर ५७ मिनेटमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१८, हरिहरपार्कस्थित नारायणी नदिको किनारमा एक जना पुरुष मृत फेला परेका छन् । शनिबार दिउँसो ४ बजेको समयमा नारायणी नदिको किनारमा नाम थर नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–१६ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६, फुर्तिचोकका ७७ वर्षीया बेल कुमारी गैरे रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ९ बजेको समयमा फुर्तिचोबाट कार्किचोकतर्फ जाँदै गरेको बा प्र ०३००४ प ५१९७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गैरे घाइते भएकी थिईन् । घाइते वृद्धालाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बिहान ९ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।