हेटौँडाः शिवसावित्री प्रतिष्ठान नेपालको २०८१ असोज २६ गते दसैँको टीकाकै दिन बसेको सचिवालयस्तरीय बैठकले शिवसावित्री अधिकारी स्मृति सम्मान–२०८१ ललितकलाकर्मी राजन काफ्ले तथा शकुन्तला ढुङ्गेल स्मृति नियात्रा सम्मान–२०८१ नियात्राकार रञ्जु दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका महासचिव चन्द्रमोहन अधिकारीका अनुसार विद्यालय तहदेखि नै ललितकला कर्ममा लाग्नुभएका राजन काफ्लेलाई यस क्षेत्रमा चार दशक लामो साधना गरेवापत तथा नियात्राकार रञ्जु दाहाललाई नियात्रा विधामा समर्पित स्रष्टा हुनाले सम्मान गर्न लागिएको हो । राजन काफ्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट ठहरिएका ललितकलाकर्मी हुनुहुन्छ भने रञ्जु दाहाल प्रियसँगको यात्रा (२०७५) तथा डोहोडोहो डोल्पो (२०८०) नियात्रा कृतिहरूकी स्रष्टा हुनुहुन्छ ।

प्रतिष्ठानका उपाध्यक्ष रमेशमोहन अधिकारीका अनुसार यी दुबै सम्मान शिवसावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको आयोजनामा चन्द्रपुर, रौतहटमा महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा २०८१ कार्तिक १६ गते हुने रचना वाचन तथा सम्मान कार्यक्रममा समर्पण गरिने छ ।