हेटौंडाः नेपाल मुस्लिम इत्तेहाद संगठन हेटौंडा उपमहानगरपालिका कमिटीको आयोजनामा भएको ६ ए साइड खसीकप क्रिकेट प्रतियोगिताको उपाधि न्यू मर्निङ युवा क्लबले जितेको छ । बिहिबार हेटौंडा–४, स्थित हुप्रचौरमा भएको फाइनल खेलमा इस्लामी मिया क्रिकेट क्लबलाई ८ रनले हराउँदै न्यू मर्निङ क्लबले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित ६ ए साइड क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।
टस हारेर पहिलो व्याटिङको निम्तो पाएको न्यू मर्निङ क्लबले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको थियो । न्यू मर्निङका रमेश लुईटेलले २३ रन बनाएका थिए । कुशल केशीले १९ रन र युविन बुढाथोकीले १४ रन बनाउन सफल भएका थिए । बलिङतर्फ मर्निङका सरोज यादवले एक विकेट लिएका थिए ।
जवाफी व्याटिङमा उत्रिएको इस्लामिया क्रिकेट क्लबले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ६० रन मात्र बनाउन सफल भएको थियो । समीम खानले २४ रनको योग्दान दिएका थिए । विवेक सहनीले १७ रन बनाएका थिए । इस्लामियाका नसिम आलमले १ विकेट लिएका थिए । उपाधि जितेसँगै न्यू मर्निङको टिमले खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता इस्लामियाले शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
म्यान अफ द म्याच न्यू मर्निङका युविन बुढाथोकी घोषित भएका छन् । प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट मर्निङका सरोज यादव, उत्कृष्ट व्याट्सम्यान सरोज यादव नै घोषित भएका छन् । उत्कृष्ट बलर शुभ कंशाकार, सर्वाधिक चौका प्रहारकर्ता शुभ कंशाकार घोषित हुँदै ट्रफी प्राप्त गरेका छन् । लिग कम नकआउट प्रणालीमा बुधबारबाट सुरु भएको प्रतियोगितामा ६ टिमहरुको सहभागिता रहेको थियो ।
नेपाल मुस्लिम इत्तेहाद संगठन हेटौँडा उपमहानगरपालिका कमिटीका अध्यक्ष मुस्तफा अन्सारीको सभाध्यक्षमा तथा मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेशका अध्यक्ष मोहमद समीम खानको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरस्कार वितरण समारोह भएको हो । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि खानले सामाजिक सद्भाव अभिवृद्धि गर्नका लागि फरक ढंगबाट प्रतियोगिताको आयोजना गरेको बताउनुभएको छ । उहाँले हिन्दु धर्मालम्बीहरुको चाडमा मुस्मिल समुदायका मानिस र मुस्लिम धर्मावलम्बीहरुको पर्वमा हिन्दुहरु रमाउन सक्ने कुरालाई बुझाउन तथा आउँदै गरेको विजयादशमी लगायतका पर्वहरुको शुभकामना व्यक्त गर्न प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । समापन कार्यक्रममा नेपाल खेलकुद महासंघ प्रदेश सचिव एवम् ४ नम्बर वडाका वडा सदस्य जनरल श्रेष्ठ र नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।