हेटौंडाः मनकामना दौड प्रतियोगितामा सन्तोष गौतम प्रथम भएका छन् । दि रिभाइबल युथ क्लबको आयोजनमा तथा २ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा बिहिबार हेटौँडामा भएको प्रथम संस्करणको खुल्ला शुभकामना मनकामना दौड प्रतियोगितामा बकैया गाउँपालिका वडा–७, हात्तीखोलाका सन्तोष गौमतले १४ मिनेट ५८ सेकेण्डमा मनकामना चोकबाट मन्दिरसम्म २.५ किलोमिटरको दौड पूरा गर्दै प्रथम भएका हुन् ।
यस्तै हेटौँडा–१४ का सञ्जिव मिजारले १५ मिनेट ५२ सेकेन्डमा मन्दिरसम्म दौड पूरा गर्दै द्वितीय भएका छन् भने हेटौंडा–४, कमलडाँडाका सुवास योञ्जनले १६ मिनेट २३ सेकेण्डमा मन्दिरसम्मको दौड पूरा गर्दै तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार रुपैयाँ, ६ हजार रुपैयाँ र ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
क्लबले हेटौंडा–२ स्थित मनकामनाचोकबाट दौड प्रतियोगिता सुरु गरेर मनकामना मन्दिरसम्म २.५ किलोटिमरको यात्रा पूरा गर्नुपर्नेगरी प्रतियोगिताको आयोजना गरेको थियो । हेटौंडामा रहेको मनकामना मन्दिरको पर्यटन प्रबद्र्धन र मन्दिरलाई आकर्षण बढाउने उद्देश्यले क्लबले फरक ढंगबाट प्रतियोगिताको आयोजना गरेको जनाएको छ । प्रतियोगितामा ४६ जनाको सहभागिता रहेको थियो ।
नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेल, जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष प्रभाकर पाण्डेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । दि रिभाइबल युथ क्लबका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्षमा तथा वडाध्यक्ष विष्णुगोपाल महजर्नको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण कार्यक्रम मनकामना मन्दिर परिसरमा भएको हो । यस वर्षको प्रतियोगितामा खेलाडीहरुको राम्रो उपस्थिति भएकोले यसलाई निरन्तरता दिने प्रयास गर्ने अध्यक्ष शाहीले बताउनुभयो । कार्यक्रममा क्लबका उपाध्यक्ष सुनिल खड्गी लगायतको उपस्थिति रहेको थियो ।