हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशको योजना छनौट र कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभएको छ । उहाँले प्रदेश सरकारको बजेट विनियोजनमा योजना छनौट र सो पश्चात कार्यान्वयन पक्ष अत्यन्त कमजोर हुँदा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो ।
प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हेटौंडामा भएको वार्षिक समिक्षा एवम् प्रदेश समस्या समाधान समितिको बैठकलाई सम्बेधन गर्नुहुँदै मुख्यमन्त्री लामाले अन्तरमन्त्रालय समन्वय अभावका कारण आयोजना छनौट र कार्यान्वयनमा समस्या भएको बताउनुभयो । समन्वयको अभाव हुँदा आयोजना दोहोरो पर्ने, क्षेत्राधिकार बाहिरको आयोजना समावेश गर्ने, प्राविधिक जनशक्ति व्यवस्थापनमा समस्या हुने गरेको उहाँको भनाई छ । उहाँका अनुसार प्रदेश सरकारले प्रतिफल विहीन क्षेत्रमा लगानी गरिरहेको छ । विगतमा आयोजना छनौट तथा कार्यान्वयन पूर्वअध्ययन नगर्दा निर्माण भएका पूर्वाधारहरु अलपत्र अवस्थामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री लामाका अनुसार बहुवर्षे आयोजना छनौटमा विधी अनुशासनको पालना नहुँदा समस्या भइरहेको छ । वहुवर्षे आयोजना छनौटमा प्रक्रिया र मापदण्ड मिचेर काम गर्दा प्रदेश सरकार माथि थप चुनौति थपिएको उहाँले दावी गर्नुभयो । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशका आयोजनाहरुमा औचित्यहीन ढंगबाट लगानी भइरहेको बताउनुभयो । बजेटको ठुलो हिस्सा लगानी भएका आयोजनाहरु उत्पादनहिन रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले आयोजना छनौटमा आवश्यकता र औचित्यका आधारमा प्राथमिकीकरण गरिनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले प्रदेश सरकारले ल्याएका आयोजनाहरुमा कर्मचारीहरुले अपनत्व ग्रहण गर्न नसकेको बताउनुभयो । कर्मचारीहरुले राजनीतिक नेतृत्वको नीति निर्देशन र योजनालाई अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । राजनीतिक नेतृत्वले लिएका नीतिगत अवधारणा र कार्यक्रमहरुलाई मन्त्रालयका सचिव तथा कर्मचारीले उचित ढंगबाट कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो । बजेट निर्माणको समयमा भएका बहस र कार्यान्वयनको समयको बहस फरक ढंगको हुनुपर्ने उहाँले बताउनुभयो ।