हेटौँडाः सातौं संस्करणको मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता स्थगित भएको छ । मंगलबार मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले एक सूचना जारी गर्दै खेल स्थगित गरेको जनाएको छ ।

शनिबार सिस्नेरीमा पहिरोमा परेर एकेडेमीका ६ जना खेलाडीको मृत्यु भएको थियो । पहिरोमा परेर हेटौँडाका अनुपम घलान, सर्लाहीका आदित्य बलम्पखी, काठमाडौंका रियान्स आचार्य, बाराका विकल रेग्मी, सिस्नेरीकै दिवस बानियाँ र मकवानपुरगढीका साइमन योञ्जनको मृत्यु भएको थियो । साइमन गढी–४, स्थित प्रतिभा युवा क्लबका खेलाडी थिए । खेलकुद विकास समितिले खेलाडीहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारमा समवेदना समेत प्रकट गरेको छ ।

मकवानपुरगढी गाउँपालिका–३, भानु माविको मिनिपिच (फुटसल) मा प्रतियोगिता असोज १७ गते बुधबारदेखि २० गते शनिबारसम्म आयोजना गरिने भनिएको थियो । सुचनामा गाउँपालिका अन्तर्गत वडा लगायत विभिन्न क्लबहरुद्वारा आयोजना गरिएका सबै प्रतियोगिताहरु अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । यस अघिका प्रतियोगिताहरु मकवानपुरगढी–३, स्थित गढी स्टार स्पोर्ट्स क्लबले आयोजना गर्दै आएकोमा यस वर्षको प्रतियोगिता मकवानपुरगढी–४, को प्रतिभा युवा क्लबले आयोजना गर्न लागेको थियो ।